म्याग्दी बहुमुखी क्याम्पसमा क्युएए मान्यता लगत्तै उत्सव मनाउने तयारी

  • १४ माघ २०७६, मंगलवार
  • 2918 पटक पढिएको

म्याग्दी १४ माघ । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) प्राप्त गरेसंगै उत्सव मनाउने तयारी गरिएको छ । अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको क्याम्पसले माघ २१ गते क्यूएए उत्सव मनाउने तयारी गरेको हो । विश्व विद्यालय अनुदान आयोगले पुस २८ गते म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको प्रमाणपत्र दिएको थियो ।

करिब दुई बर्षको निरन्तरको प्रयासपछि प्राप्त भएको अन्तराष्ट्रिय स्तरको मान्यताको खुसीलाई सिंगो जिल्लाबासीसामु पु¥याउन र क्याम्पसको शैक्षिक र भौतिक विकासको अबस्थाबारे आम अभिभावक र सरोकारवालाहरुलाई सन्देश पु¥याउन उत्सव मनाउन लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

‘‘ लामो समयदेखिको प्रतिक्षाको बिषय बनेको क्युएएको उपलब्धी हाँसिल भएको छ, यो क्याम्पसको ऐतिहाँसिक कुटकिलो हो, धौलागिरी क्षेत्रकै पहिलो क्युएए प्राप्तीले क्याम्पसको शैक्षिक र भौतिक विकासमा थप सघाउने विश्वास लिएका छौँ’’–अध्यक्ष सुवेदीले भन्नुभयो । उत्सवको अवसरमा क्याम्पस परिसरमा क्युएए स्मारक अनावरण र क्युएए प्राप्तीमा रचनात्मक सहयोग गर्ने व्यक्ति र संस्थाहरुलाई सम्मान गरिने जनाईएको छ । सो अवसरमा बेनीमा झाँकी सहितको ¥याली समेत निकालिने भएको छ ।

क्याम्पसको आन्तरिक प्रशासन, भौतिक अबस्था, शैक्षिक गुणस्तर लगायतका अबस्थाहरुको जाँच गरि ८५ प्रतिशत भन्दा बढी मापदण्ड पुरा गरि क्युएए मान्यता पाएको यस क्याम्पसलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन लागिपरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।
क्युएएको मान्यता प्राप्त संगै आगामी चैत मसान्त भित्र काम सम्पन्न गर्ने गरि क्याम्पसको ३३ प्रतिशत सहभागीतामा भौतिक र शैक्षिक विकासको लागि रु ३ करोड बढी बजेट प्राप्त भएको क्याम्पसले जनाएको छ । क्युएए प्राप्तीले क्याम्पसले बार्षिक रुपमा पाउँदै आएको अनुदान रकम समेत बृद्धि भएको छ । आगामी बर्षदेखि बार्षिक रु ४० लाखदेखि ५६ लाखसम्म अनुदान प्राप्त हुने जनाईएको छ ।

क्याम्पसमा कक्षा ११ र १२ संगै शिक्षा, व्यवस्थापन र मानविकी संकायमा स्नातक र व्यवस्थापन संकायमा स्नातकोत्तर तहको पठनपाठन हुँदै आएको छ । अहिले क्याम्पसमा १ हजार ४३ जना विद्यार्थीहरु अध्ययरत रहेको र हरेक बर्ष विद्यार्थीको आकर्षण बढ्दो क्रममा रहेको क्याम्पस प्रमुख टिकाराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अुनसार, अहिले प्राप्त भएको क्युएएको मान्यता ५ बर्षको लागि मात्रै रहेकाले त्यसपछि पनि हुने मुल्याङ्कनमा थप बढी सुचकहरुको मान्यता पुरा गर्ने र मानित विश्वविद्यालयको रुपमा स्थापित गर्ने गरि शैक्षिक र भौतिक विकासको योजनालाई अघि सारिएको छ । नेपालमा विभिन्न विश्वविद्यालयका आंगिक र सम्वन्धन प्राप्त सामुदायिक गरि करिब १ हजार ४ सय क्याम्पसहरुमध्ये ४३ वटाले मात्रै क्युएए मान्यता पाएका छन् ।

आयोगको अन्तराष्ट्रिय विशेषज्ञको समेत टोलीले क्याम्पसको गुणस्तर अवस्था अध्ययन गरेर दिएको प्रतिवेदनको आधारमा क्युएए प्रमाणपत्र दिईएको हो । म्याग्दी बहुमुखी क्याम्पस क्युएए मान्यता प्राप्त गर्ने धवलागिरी क्षेत्र र नेपालका हिमाली जिल्लाहरुको पहिलो क्याम्पस भएको क्याम्पसका क्युएए फोकल पर्सन गोरखबहादुर जिसीले जानकारी दिनुभयो । आयोगले तोकेका सूचक पुरा गर्न क्याम्पसमा चौमासिक रुपमा आन्तरिक परिक्षा, प्रशासनिक र विभागीय व्यवस्थापन, भौतिक पूर्वाधारको सुधार, कर्मचारी, प्रध्यापकहरुको चुस्त परिचालन लगायतका सुधारका काम गरिएको छ ।