सडक आयोजनामा भएको ढिलासुस्तिप्रति सांसद केसीको ध्यानाकर्षण
- १३ माघ २०७६, सोमबार
- 3423 पटक पढिएको
म्याग्दी, १३ माघ । गण्डकी प्रदेशका सांसद बिनोद केसीले बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणमा भएको ढिलासुस्ति प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेश सभाको सोमबार बसेको बैठकमा बिशेष समय लिएर सांसद केसीले बेनी–गलेश्वर सडकमा भएको ढिलासुस्तिको बारेमा प्रदेश र बेनी–जोमसोम सडकका ढिलासुस्ति प्रति संघ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बेनी–जोमसोम–कोरला सडक संघीय र बेनी–गलेश्वर संघबाट प्रदेशमा हस्तान्तरित आयोजना हो । १८६ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ११ मध्य ७ वटा मात्र प्याकेज सकिएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिलो चरणको ठेक्का सम्झौताको म्याद सकिएपनि पचास प्रतिशतको हाराहारीमा भौतिक प्रगति भएको छ । बेनी–गलेश्वर सडकको कालीपुल बसपार्क क्षेत्रमा ६०० मिटर सडक कालोपत्रे गर्ने काम डेढ वर्षमा पनि पुरा भएको छैन् ।
ठेकेदारको चरम ढिलासुस्ति र लापरबाहीका कारण राष्ट्रिय गौरव र अन्तराष्ट्रिय महत्वको सडक प्रभावित भएको, काम गरेका मजदुरहरुले ज्याला नपाएको र सर्वसाधारणले सास्ति भोग्नुपरेकोमा सांसद केसीले सरकारको ध्यानाकर्षण गराउनुभयो । पूर्वाधार योजनालाई गुणस्तरीय, दिगो र प्रभावकारी बनाउन सम्बद्ध निकाय तथा कार्यालयबाट अनुगमन तथा निगरानी बढाउनुपर्ने सांसद केसीको माग थियो ।