मोना हङकङ महिला विभागद्धारा म्याग्दीका ६ जना अनाथ विद्यार्थीलाई आर्थिक सहयोग

  • ५ माघ २०७६, आईतवार
  • 1562 पटक पढिएको

म्याग्दी, ५ माघ । म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्रमका अवसरमा संकलन भएको तिनलाख ७३ हजार ९ सय रुपियाँ जिल्लाका ६ वटा स्थानीय तहको सिफारिसका आधारमा ति बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप वितरण गरिएको हो ।


बेनी नगरपालिका ३ भकिम्ली स्थित बालप्रिय शारादा आधारभूत विद्यालयको कक्षा २ मा अध्ययनरत करण जिसी,धौलागिरि गाउँपालिका भुमे आधारभूत विद्यालयका दिपेश गुरुङ र अन्नपूर्ण गाउँपालिकाको कैलाश मावि दोवाका कक्षा १० मा अध्ययनरत विद्यार्थी कुशुम राम्जालीलाई प्रोत्साहन स्वरुप नगद हस्तान्तरण गरिएको थियो । यसैगरी मंगलाको ज्ञनदोय आधारभुत विद्यालय वावियाचौरको कक्षा १ मा अध्ययनरत भरत कुमार सुनार,मालिकाको भिम मावि राजदाङका कक्षा ६ मा अध्ययनरत वविना बुढा र रघुगंगाको अमर मावि चिमखोलाकी छात्रा साहाना बुढालाई प्रोत्साहन स्वरुप उक्त नगद हस्तान्तरण गरिएको छ ।


कार्यक्रममा एसईई परिक्षामा म्याग्दीका सामुदायिक विद्यालयहरुमध्इे सर्वोकृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, मोना हङकङका संस्थापक अध्यक्ष तुल्मराज राम्जाली, मोना हङकङ ट्रष्टका कार्यबाहक अध्यक्ष प्रमोद श्रेष्ठ लगायतले बालबालिकाहरुलाई नगद प्रदान गर्नुभएको थियो । गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुको शैक्षिक विकासका लागि हङकङमा रहेका महिलाहरुले तिज विशेष कार्यक्रम मार्फत उक्त रकम संकलन गरेको संस्थापक अध्यक्ष रामजालीले बताउनुभयो ।