नहर भत्कीएपछि लघुजलविद्युत परियोजना बन्द

  • २८ पुष २०७६, सोमबार
  • 1875 पटक पढिएको

 

तेजिन्द्रमान पुन
म्याग्दी २७ पुष । जिल्लाको धवलागिरी गाउपालिका–६ मा रहेको मराङखोला लघुजलविद्युत परियोजना बन्द भएको छ । नहर भत्कीएपछि आइतबार देखि ३० किलोवाट क्षमताको परियोजना बन्द भएको हो । छिसिम्रा भन्ने ठाउमा करिब बीस मिटर नहर भासिएको छ । परियोजना बन्द हुदा मराङका तीन सय घरधुरी विद्युत सुबिधाबाट बञ्चित भएका उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर गर्बुजाले बताउनुभयो ।उज्यालोका लागि बत्ति बाल्न, घरायसी काम गर्न, मिल सञ्चालन गर्न, मोवाइल चार्ज गर्न, टेलिभिजन हेर्न समस्या भएको छ । पक्कि नहर भत्कीदा करिब सात लाख पचास हजार रुपैयाँ बराबरको क्षति पुगेको कोषाध्यक्ष यामलाल सुवेदीले बताउनुभयो ।

मराङको बेशी, कुम्री, दमका र खागरीबाङका करिब एक सय घरमा गत कात्तिकमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको थियो । विस्तारको क्रममा रहेको केन्द्रीय लाइनबाट नियमित विद्युत आपुर्ति हुन सकेको छैन् ।मराङ, ठुलो गाउ, खक्सी, राम्चे, हाम्बाङ, आरबाङ, आरबाङ, थापाहरी, घण्टीवाङ र रिखका बासिन्दा पूर्ण रुपमा लघुजलविद्युत परियोजनाको बिजुलीमा निर्भर थिए । नहर भत्कीएपछि पहिरो समेत गएको छ । जसका कारण मराङ हुदै मल्कवाङ, कुइनेखानी र भेडीखाल्डा जाने आउने स्थानीयबासीलाई समस्या भएको उपभोक्ता समितिका सचिव अमर पुनले बताउनुभयो ।

उपभोक्ता समितिका पदाधीकारी र परियोजनाका अपरेटर भक्तबहादुर गर्बुजा सहितको टोलीले पहिरोको निरिक्षण गरेर क्षतिको बारेमा वडा अध्यक्ष राजाराम सुवेदी मार्फत गाउपालिकामा जानकारी गराएका छन् । गाउपालिकामा परियोजना मर्मतका लागि पहल गरिएको वडा अध्यक्ष सुवेदीले बताउनुभयो ।