कहिले बन्ला बेनी बसपार्क ? संघिय सरकारसंग मिलेर बनाउने प्रदेश सरकारको आश्वासन !

  • २७ पुष २०७६, आईतवार
  • कमल खत्री
  • 3104 पटक पढिएको

म्याग्दी, २७ पुस । म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालिपुलमा सञ्चालन हुँदै आएको बसपार्कको अस्तव्यस्तताले जिल्लालाई नै गिज्याइरहेको छ । अव्यवस्थित बसपार्कमा बर्षातमा हिलो र हिउँदयाममा धुलोको सास्ती हटाउन बसपार्क व्यवस्थापनको योजना अघि सारिएको थियो । २०७४ भदौमा बेनी नगरपालिका–८ कार्यालयले सहरी आवास तथा भवन निर्माण कार्यालयसंगको सहकार्यमा वसपार्कको गुरुयोजना निर्माण गरेको थियो ।


बसपार्क व्यवस्थापनको लागि गुरुयोजना निर्माण भएपनि बजेट अभाबले काम सुरु हुन नसकेको सन्दर्भमा गण्डकी प्रदेश सरकारले संघिय सरकारसंगको साझेदारीमा बेनी बसपार्क निर्माण गर्ने घोषणाले म्याग्देलीहरुमा आसा जागेको छ । जिल्ला समन्वय समिति म्याग्दीको भवन उद्घाटन समारोहमा भाग लिन हालै बेनी आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय र प्रदेश सरकारको साझेदारीमा बेनी बसपार्कलाई निर्माण गरिने प्रतिबद्धता जनाएका हुन् ।

 

पवित्र धार्मिक स्थल मुक्तिनाथको प्रवेशद्धारको रुपमा रहेको बेनी बसपार्क अव्यवस्थित हुँदा बर्षेनी भित्रने हजारौँ तिर्थयात्री र पर्यटकहरु सामु नकरात्मक सन्देश जाने भन्दै मुख्यमन्त्री गुरुङले आगामी तीन बर्षभित्र बेनी बसपार्क व्यवस्थित बसपार्कको रुपमा विकास हुने बताए । कुल रु २१ करोड लागत अनुमान गरिएको बसपार्क निर्माणको लागि गण्डकी प्रदेश सरकारले संघिय सरकारको समपुरक कोषबाट रु १० करोड बजेट व्यवस्थापन गर्न लिखित रुपमै माग गरेको छ ।


‘‘ बेनी मुक्तिनाथको गेटवे हो, कुनैपनि हालतमा हामीले बेनी बसपार्क बनाउनै पर्छ, यो बर्षमा बजेट व्यवस्थापन हुन्छ, अर्कोबर्षदेखि निर्माण कार्य नै सुरु हुन्छ’’–मुख्यमन्त्री गुरुङले भने । उनले गण्डकी प्रदेश सरकारले तीन तहकै सरकारको लगानीमा बेनीमा अन्तराष्ट्रिय मापदण्ड अनुसारको खेलकुद रंगशाला निर्माणको लागि समेत योजना बनाएको बताउँदै आबश्यक जग्गा र गुरुयोजना निर्माण गर्न बेनी नगरपालिकालाई आग्रह गरेका छन् ।


दुई बर्ष अघि नै बेनी बसपार्कको गुरुयोजना निर्माण गरिएपनि बजेट अभाब भैरहेको सन्दर्भमा प्रदेश सरकारबाट भएको पहलकदमीले बसपार्क निर्माण हुने सुनिश्चितता बढाएको बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले बताए । ‘‘ गुरुयोजना त निर्माण गरेका थियौँ, तर ठुलो रकम लाग्ने भएकाले बजेट व्यवस्थापन हुन सकेको थिएन, गण्डकी प्रदेश र संघिय सभाका सदस्यहरु मार्फत भएको पहलकदमीले बसपार्क निर्माणको लागि बजेट आउने लगभग पक्का भएको छ,’’– नगरपालिकाका प्रवत्ता समेत रहेका वडा अध्यक्ष बराईलीले भने ।

अहिले कालिपुल बसपार्कको अस्तव्यस्तताले म्याग्दी र यहाँ भएर मुस्ताङ भ्रमणमा आउने पर्यटकहरुलाई असुविधा हुनुको साथै नकरात्मक सन्देश दिने गरेको छ । वडा कार्यालयले बसपार्क क्षेत्रका टहरा व्यवस्थापनको काम गरेको छ भने गण्डकी प्रदेश सरकार अन्र्तगतको भौतिक पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालित बेनी–गलेश्वर सडक कालोपत्रे योजना अन्र्तगत कालिपुल क्षेत्रको सडकलाई कालोपत्रेको लागि तयारी गरिएको छ । सडक कालोपत्रे हुने, अव्यवस्थित टहरा व्यवस्थापनसंगै गुरुयोजना अुनसारको बसपार्क निर्माणको सुरसारले यस क्षेत्रका सरोकारवालामा बसपार्क क्षेत्रको मुहार फेरिने आसा जगाएको हो ।

बसपार्क निर्माणको लागि निर्माण गरिएको गुरुयोजनामा कालिपुलमा रहेको पर्यटन सुचना केन्द्र, छरिएको टिकट काउन्टर, पार्किङस्थल, बसपार्क नजिक रहेका टहरा र पेट्रोलपम्प विस्थापन गरि साना र ठूला सवारीसाधन आवतजावत गर्ने मार्ग, टर्मिनल भवनलगायतका भौतिक पूर्वाधार गर्ने योजना प्रस्ताब गरिएको छ । बाइस रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कलाई कालीगण्डकी नदीतर्फको भागमा ठूला, मझौला र माथिल्लो क्षेत्रमा साना प्रकृतिका सवारीसाधन पार्किङ गर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । भवनको भुइँतलामा सबै यातायात व्यवसायीको एकै ठाउँमा टिकट काउण्टर, सपिङ सेन्टर र दोस्रो तलामा चिया पसल तथा कार्यालय सञ्चालन गर्न प्रस्ताव गरिएको छ । बीचमा सडक रहने बसपार्कमा गाडी चढ्ने र झर्ने ठाउँ, सार्वजनिक शौचालयसमेत निर्माण गरिने भएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l