घतानका गर्भवतिको घरमा झण्डा, हातमा अण्डा

  • २५ पुष २०७६, शुक्रबार
  • 2052 पटक पढिएको

 

म्याग्दी २५ पुष । बेनी नगरपालिका–९ घतानका गर्भवतिलाई अण्डा वितरण र घरमा झण्डा वितरण गरिएको छ ।वडा स्तरीय महिला सञ्जाल र पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले सुनौला हजार दिने घरको पहिचान, परामर्श र अनुगमन कार्यक्रम सुरु गरेको हो । गर्भवति भएका घर पहिचान गरि उनिहरुलाई पौष्टिक आहरा खुवाउनुपर्ने, आमा र बच्चाको स्याहार सुसारमा परिवारले सघाउनुपर्ने सन्देश पु¥याउन हरियो झण्डा राखिएको छ ।

घतान स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गर्भवतिको घरमा झण्डा, ब्यवहार परिवर्तनका दश बुदे प्रतिवद्धता सहितको पोष्टर राख्ने कार्यक्रमको सुरुवात गरिएको हो । गर्भवतिहरुलाई एक÷एक क्रेट अण्डा वितरण समेत गरिएको थियो । स्वास्थ्य चौकिका अनुसार घतानमा अहिले १७ जना गर्भवति छन् । उनिहरु सबैका घरमा हरियो झण्डा र ब्यवहार परिर्वतनका प्रतिवद्धताको बोर्ड राख्नुका साथै अण्डा वितरण गरिने स्वास्थ्य चौकीका प्रमुख जमुना शर्माले बताउनुभयो ।

घरमा राखिएको झण्डा सुत्केरी भएपछि महिला स्वास्थ्य स्वमसेविकालाई दिनुपर्नेछ । स्वमसेविकाले गर्भवति भएको अर्को घरमा उक्त झण्डा राख्ने व्यवस्था मिलाइएको छ । पोषण र मातृ शिशू स्वास्थ्य सुधारका लागि यस्तो कार्यक्रम गरिएको उहाले बताउनुभयो । महिला लक्षित कार्यक्रमका लागि वडाको प्रस्तावमा नगरपालिकाले चालु आर्थिक वर्षमा दुई लाख रुपैयाँ बिनियोजन गरेको थियो । तीन दिने कानुनी साक्षरता तालिम सञ्चालन गरेर बचेको रकम मातृ शिशू स्वास्थ्य र पोषण सुधारका कार्यक्रममा परिचालन गरिएको महिला सञ्जालकी संयोजक रश्मी बानिया खड्काले बताउनुभयो ।

मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा परियोजनाको सहजिकरणमा झण्डा र व्यवहार परिवर्तनका प्रतिवद्धतापत्र राख्ने तथा गर्भवतिलाई अण्डा वितरणको कार्यक्रम गरिएको हो । वडा अध्यक्ष बेलबहादुर चोखालले गर्भवति, सुत्केरी र दुई वर्षभित्रका बच्चा तथा आमाको स्वास्थ्यमा ध्यान दिनुपर्ने सन्देश घरघर सम्म पु¥याउन घरमा झण्डा, हातमा अण्डा अभियान चलाएको बताउनुभयो ।

सुआहारा परियोजनाका जिल्ला संयोजक चिरञ्जिवी दाहाल, मिलन म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुन (गरिमा) र फिल्ड सुपरभाइजर रामबहादुर खड्काले परियोजनाका गतिबिधिलाई दिगो र प्रभावकारी बनाउन स्थानीय तहले पोषण सम्बन्धी कार्यक्रमलाई आन्तरिकिकरण गर्नुपर्ने बताउनुभयो ।