१२ औँ राष्ट्रिय जनगणनालाई तथ्यपरक बनाउन सुझाब

  • १८ पुष २०७६, शुक्रबार
  • 1906 पटक पढिएको

म्याग्दी १८ पुस । नेपालमा गर्न लागिएको १२ औँ राष्ट्रिय जनगणनालाई तथ्यपरक बनाउन म्याग्दीका सरोकारवालाहरुले सुझाब दिएका छन् । तथ्याङ्क कार्यालय बागलुङले शुक्रवार बेनीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा तथ्याङ्ककै आधारमा राज्यका हरेक गतिविधि र कार्यक्रमहरु सञ्चालन हुने भएकाले राष्ट्रिय जनगणना २०७८ लाई नियमित जनगणनाको रुपमा मात्रै नगरि जनगणनामा समेटीने हरेक तथ्याङ्कलाई वास्तविक रुपमा समेट्नको लागि सरोकारवालाहरुले सुझाब दिएका हुन् ।

कार्यक्रममा तथ्याङ्ग विभाग बागलुङका प्रमुख मुकुन्द शर्माले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको राष्ट्रिय जनगणना २०७८ को तयारीबारे जानकारी गराउनुभएको थियो । उहाँले यस पटकको जनगणनामा कागजी प्रकृया संगै प्रविधिको समेत प्रयोग गरिने जानकारी दिँदै कार्यालयको तर्फबाट आबश्यक तयारी थालिएको जानकारी दिनुभयो ।

जनगणनाको तयारी स्वरुप स्थानीय तहको गणना नक्शा तयार गर्ने, प्रश्नावली निर्देशिका तयार गर्ने काम सम्पन्न भएको जानकारी दिँदै उहाँले जनगणना सञ्चालन पूर्वको पाईलट सर्वेक्षणको तयारी पुरा भएको बताउनुभयो । संघिय संरचनामा पहिलो पटक हुन लागेको राष्ट्रिय जनगणना अन्र्तगत २०७८ जेठ २५ देखि असार ८ गतेसम्म मुल गणना गर्ने गरि तयारी थालिएको छ ।

कार्यक्रममा संविधानसभा सदस्य गोविन्द पौडेल र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले संघिय संरचनामा पहिलो पटक हुन लागेको राष्ट्रिय जनगणनालाई प्रभाबकारी तवरले सम्पन्न गर्नको लागि थप पूर्व तयारीमा जुट्नुपर्नेमा जोड दिनुभयो । तथ्याङ्क कार्यालयका शिवराम आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले गर्नुभएको थियो ।