पवित्र धार्मिक संस्थाभित्र मौलाएको अपवित्र प्रवृति ! ‘अबैध उपभोक्ता समिति : योजनालाई ठेक्का’

  • १८ पुष २०७६, शुक्रबार
  • 2638 पटक पढिएको

म्याग्दी १८ पुस । भनिन्छ ‘धर्म सम्झेर काम गर्नुपर्छ’ कल्पना गर्नुस त धार्मिक क्षेत्रमै विधि र प्रकृया मिचेर काम हुन्छ भने के भन्ने होला ? यहाँको एक प्रसिद्ध र पवित्र धार्मिक संस्था भित्र अपवित्र प्रवृतिले जरा गाडेको तथ्यहरु बाहिरीएका छन् । धार्मिक संस्थामा हुने क्रियाकलापहरु सवै पारदर्शी हुन्छन भन्ने आम विश्वास पनि छ । तर विश्वकै अलौकिक पवित्र तिर्थस्थलको रुपमा रहेको म्याग्दीको गलेश्वरधाम भित्र अपवित्र प्रवृति मौलाउँदो छ । पछिल्ला केही घटनाहरुलाई हेर्दा धार्मिक संस्था भित्र हुने सवै क्रियाकलापहरु पवित्र हुन्छन भन्ने विश्वास गर्न कठिन हुन्छ । प्रस्तुत छ पवित्र गलेश्वरधाममा भएका केहि अपवित्र घटनाक्रमका श्रृङ्खला ।
                    घटना नम्बर १ : नक्कली उपभोक्ता समिति गठन
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चालु आर्थिक बर्षमा गलेश्वरमा पर्यटन पूर्वाधार सामुदायिक भवन निर्माणको लागि विनियोजन भएको बजेट कार्यान्वयनमा नक्कली उपभोक्ता समिति खडा गरिएको छ । बेनी नगरपालिका मार्फत कार्यान्वयन हुने सो योजनाको लागि उपभोक्ता समिति गठनमा आम भेला नगरिकनै सिमित व्यक्तिहरुको मिलेमतोमा नक्कली उपभोक्ता समिति गठन गरिएको पाईएको छ । मन्त्रालयबाट पहिलो किस्ता बापत प्राप्त बजेट रु २५ लाखको योजना सम्झौताको क्रममा बेनी नगरपालिकासंग गरिएको योजना सम्झौताको कागजपत्रमा प्रकृया नै पुरा नगरि उपभोक्ता समिति गठन गरिएको भेटिएको छ । उक्त योजना कार्यान्वयनमा स्थानीयबासीको आमभेला गराउनुपर्ने नितिगत व्यवस्थालाई मिचेर गलेश्वर शिवालय क्षेत्रविकास कोषको बैठकबाट उपभोक्ता समिति गठन गरेका हुन् । जनप्रतिनिधिको रोहोवरमा आम भेला हुनुपर्ने भएपनि क्षेत्रविकास कोषको बैठकबाट उपभोक्ता समिति गठन गरिएको पाईएको बेनपा–९ का वडा अध्यक्ष बेलबहादुर चोखालले बताउनुभयो । सो उपभोक्ता समिति गठनमा वडा कार्यालयलाई कुनै जानकारी समेत नदिइएको उहाँले दुखेसो पोख्नुभयो । यता नगरपालिकाले निर्माण गरेको स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४ मा रहेको व्यवस्थालाई समेत सो उपभोक्ता समितिले उलंगन गरेको देखिएको छ । कार्यविधिमा कुनैपनि राजनीतिक दलका पदाधिकारी, बहालवाला सरकारी कर्मचारी, जनप्रतिनिधि र शिक्षक उपभोक्ता समितिमा बस्न नपाउने व्यवस्था रहेको छ । तर गलेश्वर पर्यटन पूर्वाधार योजनाको उपभोक्ता समितिको अध्यक्ष बन्नुभएका क्षेत्र विकास कोषका सदस्य सचिब समेत रहनुभएका माधव प्रसाद रेग्मी नेपाली काँग्रेस म्याग्दीको उप–सभापति हुनुहुन्छ ।
स्वघोषित उपभोक्ता समितिहरु
अध्यक्ष : माधवप्रसाद रेग्मी
उपाध्यक्ष : पूर्णबहादुर बानिया
सचिबः रामबहादुर बानियाँ
कोषाध्यक्षः आशिका पुर्जा
सदस्यहरु : हिराबहादुर बरुवाल, प्रेमबहादुर चोखाल, कुमारी रोका
                              घटना नम्बर २ : उपभोक्ता समितिले अबैधबाटोबाट दियो योजनालाइ ठेक्का 
सरकारले विकास निर्माण योजनालाई जनसहभागितामुलक, प्रभाबकारी र अपनत्व बढाउन उपभोक्ता समिति मार्फत योजना कार्यान्व्यन गर्ने नितीगत व्यवस्था गरेको छ । तर उपभोक्ता समितिले आफुले गर्नुपर्ने काम ठेक्का दिन्छन भने त्यस्तो कार्य कानुन विपरितको कार्य हुनेछ । गलेश्वर पर्यटन पूर्वाधार सामुदायिक भवन निर्माण योजनाको उपभोक्ता समितिले भने योजनालाई ठेक्कामा दिएको रहस्य खुलेको छ । अबैध रुपमा उपभोक्ता समिति गठन गर्ने र योजनालाई ठेक्कामा दिने कार्यले गलेश्वर शिवालय क्षेत्र विकास कोषको नेतृत्वको असली चरित्र उदांगीएको छ । कानुन विपरित, प्रतिस्पर्धा नगराईकन मिलेमतोमा आफ्ना नजिकका व्यक्तिलाई योजना ठेक्कामा लगाउने कार्यले क्षेत्र विकास कोषका नेतृत्व कतै कमिसनमा लागेका त छैनन् ? भन्ने प्रश्न उब्जिएको छ । यस योजनालाई उपभोक्ता समितिले बेनीका निर्माण व्यवसायि लिलाबहादुर बानियाँलाई जिम्मा दिएको हो । समिति मार्फत करिब रु ५८ लाख लागत अनुमान गरिएको ४ कोठे पक्की भवन निर्माणको लागि आफुले रु ४८ लाख २५ हजारमा जिम्मा लिएको निर्माण व्यवसायि बानियाँले जानकारी दिनुभयो ।
                                    घटना नम्बर ३ : ५० लाखको भवन बनाउन ५० लाख कै भवन मासियो 
गलेश्वर शिवालय क्षेत्र विकास कोष परिसरमा लाखौँ खर्चिएर बनाईएको ऐतिहाँसिक र पुरानो संरचनाको रुपमा रहेको शालग्राम गण्डकी बेद विद्याश्रम भवनलाई विना कारण मासिएको छ । पर्यटन मन्त्रालयबाट नयाँ भवन निर्माणको लागि बजेट प्राप्त भएसंगै भवन निर्माण समेत सुरु नगर्दै सो भवनलाई भत्काईएको हो ।

२०२८ सालमा निर्मित सो भवन निर्माण गर्न ५० लाख भन्दा बढी लागत लाग्ने भएपनि ५० लाखकै भवन बनाउने बाहनामा पुरानौ सम्पदाको रुपमा रहेको सो भवनलाई भत्काएर मासिएको हो । कोषका कोषाध्यक्ष बम बहादुर पुनले क्षेत्र विकास समितिको बैठकमा भवनलाई ऐतिहाँसिक धरोहर र गलेश्वरको एक मात्रै पुरानो सम्पदाको रुपमा संरक्षण गर्नुपर्ने आवाज उठाएपनि कोषको नेतृत्वले एकलौटी ढंगबाट सम्पदालाई मासेका हुन् । कोषको खातामा करोडौँ रकम जम्मा भएको अबस्थामा पनि नयाँ भवन निर्माणमा उपभोक्ता समितिले जुटाउनुपर्ने लागत श्रमदान बापतको रकम पुरानो भवनको ढुंगा विक्रि गरेर पुर्ति गर्ने निहुँमा सम्पदालाई मासिनुले गम्भिर पश्न चिन्ह उठाएको छ ।
                                                            कोषको प्रष्टीकरण यस्तो छ
विधि, प्रकृयालाई मिच्दै अघि बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले आफ्ना कमजोरीलाई बाध्यताको संज्ञा दिएको छ । कोषका अध्यक्ष रुद्रबहादुर केसीले मानिसहरु जम्मा गर्न अप्ठ्यारो हुने भएकाले कोषको बैठकबाट समिति चयन गर्नुपर्ने बाध्यता आएको बताउनुभयो । उहाँले सो समितिलाई कोषको साधारणसभाबाट समेत अनुमोदन गराईएको दावि गर्नुभयो । यता उपभोक्ता समितिका अध्यक्ष बन्नुभएका कोषका सदस्य सचिब समेत रहनुभएका नेपाली काँग्रेस म्याग्दीका उपसभापती माधव प्रसाद रेग्मीले भवन निर्माणलाई पूर्णता दिनको लागि मात्रै कोषका सबै पदाधिकारी र सदस्यबाट भएको आग्रहलाई स्विकार गरि आफु अध्यक्ष बनेको तर्क गर्नुभयो । उहाँले आफुलाई भवन निर्माण बारे अनुभव समेत नभएको जानकारी गराउँदा समेत भवन निर्माणको लागि समितिले आफुलाई जिम्मा दिएपछि आफुले स्विकार गर्नुपरेको बाध्यता सुनाउनुभयो । नवविकल्प साप्ताहिकबाट