म्याग्दीमा जिल्ला स्तरीय मावि तह हाजिरिजवाफ प्रतियोगिता हुँदै, तयारी तिब्र

  • १७ पुष २०७६, बिहीबार
  • 2357 पटक पढिएको

म्याग्दी, १७ पुस । म्याग्दीमा जिल्लास्तरीय मावि तहको हाजिरिजवाफ प्रतियोगिता हुने भएको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’ले जिल्लाभित्रका माध्यमिक तहका विद्यार्थीहरुले भाग लिन पाउने गरि प्रतियोगिताको आयोजना गरेको हो । आगामी माघ महिनाको ३ र ४ गते सञ्चालन गरिने प्रतियोगिताको तयारीलाई तिब्र पारिएको म्याग्देली विद्यार्थी परिवारकी अध्यक्ष केशरी शर्माले जानकारी दिईन ।

उनका अनुसार, दुई चरणमा गरि प्रतियोगितालाई जिल्लाका अधिकाँश माध्यमिक तहका विद्यालयको सहभागिता गराउने लक्ष्यका साथ तयारीलाई अघि बढाईएको छ । म्याग्दीका स्थानीय तह र विभिन्न संघ संस्थाका साथै अन्य सहयोगदाताहरु मार्फत समेत प्रतियोगितालाई सफल बनाउन सहयोग जुटाउने कार्य भैरहेको जनाइएको छ ।

मंगला, मालिका र धवलागिरी गाउँपालिकाभित्र रहेका विद्यालयहरुलाई लक्षित गरि माघ ३ गते बावियचौर र बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाभित्रका विद्यालयहरुलाई लक्षित गरि गलेश्वरमा प्रतियोगिता सञ्चालन गरिनेछ । बावियाचौर र गलेश्वरमा सहभागी हुने विद्यालयलाई दुई/दुई समुहमा विभाजन गरि प्रतियोगिता सञ्चालन गरिनेछ । चारै समुहमा प्रथम र द्धितिय हुनेलाई ४ गते बेनीमा हुने फाईनल प्रतियोगितामा सहभागि गराईने आयोजकले जनाएको छ ।

फाईनल चरणमा पुग्ने विद्यालयहरुमध्ये कुनै स्थानीय तहको प्रतिनिधित्व शुन्य हुने अबस्था आएमा सबैभन्दा बढी अंक ल्याउने सम्बन्धित स्थानीय तहको विद्यालयलाई समेत फाईनलमा सहभागि गराईने संस्थाकी सचिव सरिता थापाले जानकारी दिईन् ।उनका अनुसार प्रतियोगितामा सहभागी हुने विद्यार्थीलाई यातायात, खानाको व्यवस्था समेत गरिएको छ । हरेक विद्यालयबाट २ जना विद्यार्थिले प्रतियोगितामा भाग लिनेछन् । सहभागि विद्यालयलाई रु ५ सय दर्ता शल्क निर्धारण गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितिय , तृतिय र सान्त्वनाले क्रमश : नगद रु २० हजार, १२ हजार, ७ हजार र ४ हजारको साथमा प्रमाणपत्र पुरस्कार हात पार्नेछन् । विजेता सहित सान्त्वनासम्मका विद्यार्थीलाई काठमाण् डौमा उच्च शिक्षा अध्ययनको क्रममा छात्रबृत्ति समेत प्रदान गरिने जनाइएको छ ।