शर्मा–युनाईटेडले ज्याला नदिएपछि गुहार माग्दै मजदुर सडकमा, ठेकेदारलाई पक्राउ गर्न माग (भिडियो सहित)

  • १७ पुष २०७६, बिहीबार
  • 2086 पटक पढिएको

म्याग्दी १७ पुस । बेनी–जोमसोम–कोरला सडक आयोजनामा परिचालित मजदुरहरुले ज्याला माग गर्दै आन्दोलन थालेका छन् । सडक आयोजना अन्र्तगत म्याग्दीको राुहघाटदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीले श्रमीकले पाउनुपर्ने करिब सबा करोड रकम दिन आलटाल गरेपछि मजदुरहरु काम रोकेर सडक आन्दोलनमा उत्रिएका हुन् ।

उत्तर–दक्षिण जोड्न् राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर सडक अन्र्तगत बेनी–जोमसोम–कोरला सडक कालोपत्रे सहित स्तरोन्नतीको लागि आयोजना सञ्चालन गरिएको थियो । आयोजनाको यस खण्डको काम समेत सुस्त बनेको छ । निर्माण कार्यमा परिचालित मजदुरलाई समयमै तलब नदिने यस कम्पनीका मजदुर यस अघि पनि पटक–पटक आन्दोलित हुँदै आएका थिए ।

निर्माण कम्पनीले मजदुरको ज्याला दिन आनाकानी गरेपछि नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)को अगुवाईमा मजदुरहरुले दबाबमुलक आन्दोलन सुरु गरेका छन् । रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेको ठेकेदार कम्पनीको साईट कार्यालयमा तालाबन्दि गरेर आयोजनाको काम ठप्प पारेको पिडित मजदुर कोमबहादुर बुढा मगरले बताए । मजदुरहरुको पेटी ठेक्का समेत लिएका बुढा मगरका अनुसार, निर्माण कम्पनीले २ सय बढी कामदार परिचालन गरेका ९ वटा पेटी ठेकेदारलाई रु १ करोड ११ लाख रुपैयाँ ज्याला दिन बाँकी रहेको छ । कम्पनीले अघिल्लो बर्षको मंसिरदेखि अहिलेसम्म जम्मा १९ लाख रुपैयाँ मात्रै मजदुरको ज्याला भुक्तानी गरेको उनले बताए ।

‘ दुर्गम क्षेत्र, रुकुम, रोल्पा लगायतका ठाउँबाट घर छाडेर आएका मजदुरहरुले ज्याला पाउन सकेका छैनन्, उनीहरुलाई यहाँ हामीले काम गर्न ल्याएका हौँ, ठेकेदारले रकम नदिएपछि हामीले कहाँबाट उनीहरुलाई ज्याला दिने ?, हामी सबै बिचल्लीमा परेका छौँ’’–उनले भने । मजदुरहरुले यस खण्डको कामलाई पूर्ण रुपमा रोकेर आन्दोलनमा होमिएका छन् ।
                                                       जिल्ला प्रशासन कार्यालयमा धर्ना
ठेकेदारले रकम नदिएपछि आन्दोलित बनेका मजदुरहरुले बुधवार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । सम्बन्धित ठेकेदारलाई तुरुन्त कारबाही गरि मजदुरहरुको ज्याला उपलब्ध गराउन प्रशासनको ध्यानकर्षण गराउनको लागि धर्ना दिईएको जिफन्ट बेनी नगर कमिटीका अध्यक्ष बलादेवी राईले जानकारी दिईन् । श्रमीकको ज्याला नदिने ठेकेदारलाई नियन्त्रणमा लिएर कारबाही गर्न समेत मजदुरहरुले माग गरेका छन् । यस अघि पनि यस निर्माण कम्पनीले जिल्ला प्रशासन कार्यालयमा मजदुरहरुलाई समयमै तलब दिने सहमती गरेपनि सहमती कार्यान्वयन नगरेकाले उसलाई कारबाही गर्नुपर्ने मजदुरहरुको माग छ । मजदुरहरुले ठेकेदार मार्फत ज्याला बापतको रकम उपलब्ध गराउनको लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालय अगाडी करिब ३ घन्टा शान्तिपूर्ण धर्ना बसेर दबाब दिएका हुन् ।
                                                गुजारा चलाउन ऋण काट्नुपर्ने अबस्था
रोल्पाकी दिलकुमारी बुढा तीन बर्षको बच्चालाई समेत पिठ्युमा बोकेर यस आयोनामा काम गरिन् । ठकेदार कम्पनीले पटक पटक माग गर्दापनि ज्याला नदिएपछि उनी अन्य मजदुरहरसंगै छोरालाई बोकेरै आन्दोलनमा होमिएकी छिन् । बालबच्चालाई खानपान र लत्ताकपडा किन्ने पैसा समेत अभाब भएको र दैनिक रुपमा मजदुरी गर्दा समेत दिन कटाउन ऋण खोज्नुपर्ने बाध्यता आएको उनले सुनाईन् । गत बर्षको मंसिर देखि यस आयोजनामा काम सुरु गरेका रोल्पाकै १४ बर्षिय तेजलाल विकले पनि आफुले तलब नपाएको गुनासो गरे । मजदुरको तलब नदिने कम्पनीलाई पटक पटक ध्यानकर्षण गराउँदा समेत सुनुवाई नहुने समस्याले मजदुरहरु बिचल्लीमा परेको मजदुर नाईके बेदबहादुर थापाले बताए । विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म गरेको कामबाट दैनिक ८ सय देखि १ हजारसम्म कमाई गर्ने मजदुरहरु बर्षदिन देखि नै पारिश्रमिक नपाएपछि निरास बनेका छन् ।
                                                              मजदुरको ज्याला उपलब्ध गराउन पहल
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले मजदुरका गुनासाहरु आयोजना र सम्बन्धित निर्माण कम्पनीले सम्बोधन गर्नुपर्ने बताए । उनले आयोजना मार्फत सम्बन्धित निर्माण कम्पनीको ध्यानकर्षण गराईएको बताउँदै मजदुरलाई परेको मर्काबारे प्रशासन कार्यालयले निरन्तर सहजीकरण गरेको जानकारी दिए । यस अघि पनि यस निर्माण कम्पनीले ज्याला नदिएपछि प्रशासनको निरन्तरको दबाबपछि श्रमीकले आफुले पाउनुपर्ने ज्याला बापतको केही रकम पाएका थिए । मजदुरहरुले ज्याला माग्न आन्दोलन नै गर्नुुपर्ने अबस्था आउनु विडम्बनापूर्ण रहेकाले उनीहरुको अधिकारको लागि आन्दोलनलाई थप शसक्त बनाईने मजदुरहरुको संगठन नेपाल पेन्टर पलम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक)का सचिब मुकेश शाहले बताए । आन्दोलनमा उत्रिएका मजदुरहरुले ज्याला भुक्तानी नपाएसम्म आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएका छन् ।