च्युरीबोटको सिद्धार्थ माविलाई ल्यापटप र प्रोजेक्टर सहयोग
- १४ पुष २०७६, सोमबार
- 1998 पटक पढिएको
म्याग्दी १४ पुस । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोट स्थित सिद्यार्थ माविलाई ल्यापटप, प्रोजेक्टर सहयोग प्राप्त भएको छ । च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बसोबास गर्नुहुने समाजसेवी क्याप्टेन लक्ष्मण, धिरज र बिजय पुन मगर गरी तीन दाजुभाइको परिवारले सो सहयोग गर्नुभएको हो । आइतबार विद्यालयमा आयोजित सहयोगदाता सम्मान कार्यक्रममा पुन परिवारका तर्फबाट सयुक्त रुपमा विद्यालयका प्रअ ललितबहादुर घर्ति मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर घर्ति मगरलाई एक थान कम्प्युटर, एक थान प्रोजेक्टर र पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको थियो ।
विद्यालयमा शिक्षण सिकाइलाई प्रविधिसंग जोड्न सहयोग पुगोस पुगोस भन्ने उदेश्यले सहयोग प्रदान गरिएको सहयोगदाता क्याप्टेन पुन मगरले बताउनुभयो । दुर्गम गाउँका विद्यालयमा शिक्षण सिकाईलाई प्रविधिसंग जोड्न सकिएमा मात्र गुणस्तरिय शिक्षा हासिल गर्न सकिने उहाँको भनाई छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घर्ति मगरले सहयोगदाता परिवारलाइ धन्यवाद ज्ञापन गर्दै ल्यापटप र प्रोजेक्टर सहयोगले विद्यालयमा शिक्षण सिकाइमा सहयोग पुग्ने बताउनुभयो ।
विद्यालयका प्रअ घर्ती मगरले आर्थिक अभावका कारण विद्यालयमा शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन नसकिएको अबस्थामा पुन परिवारबाट प्राप्त सहयोगले विद्यालयलाई ठुलो राहत पुगेकोे बताउनुभयो ।न्युन दरबन्दि र आर्थिक अभावका कारण विद्यालय संचालनमा स्थानीयलाई ठुलो आर्थिक समस्या हुने गरेको छ । यसैगरी सोही कार्यक्रममा डाक्टर ममता पुन मगरले विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने करिब १५ हजार रुपैयाँ बराबरको स्वास्थ्य र सरसफाईका सामाग्री समेत वितरण गर्नुभएको थियो ।
अमेरिकामा पार्कर खेलका प्रशिक्षक स्पर्ष पुन मगरले विद्यार्थीहरुलाई सो खेलको परिचय महत्व र फाइदाको बारेमा प्रशिक्षण गराउनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व प्रअ एव् अध्यक्ष तमबहादुर पुन मगरले सहयोगदाता पुन परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घर्ति मगरको अध्यक्षता ,शिक्षक छबि घर्ति मगरको संचालन र शिक्षक प्रदिप पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसअघि समाजसेवी क्याप्टेन पुन मगरको पहलमा विदेशी संस्थाको आर्थिक सहयोगमा छ कोठे पक्की भवन निर्माण गरिएको छ । भने उहाँको परिवारको पहलमा फ्रान्सको नमस्ते ईन्फान्स दी हिमालयकोे सहयोगमा विद्यालयमा अध्ययनरत दुई जना निजि स्रोतका शिक्षकहरुलाई तलबको व्यवस्थापन गरिएको छ ।