दरवाङ इकाइको साधारणसभा

  • १३ पुष २०७६, आईतवार
  • 1712 पटक पढिएको

बेनी, १३ पुष । म्याग्दी उद्योग वाणिज्य संघ दरवाङ इकाइको छैठौ वार्षिक साधारणसभा शनिबार दरवाङमा सम्पन्न भएको छ । कार्यक्रममा मालिका गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले ब्यवसायलाई दर्ता प्रक्रियामा ल्याउनुपर्ने, म्याद नाघेका सामान बिक्री रोक्नुपर्ने र राज्यको नीति नियम पालनामा व्यवसायी सचेत बन्नुपर्ने बताउनुभयो ।

ब्यवसायिक चेतनाको विकास गराउन इकाइले जोड दिनुपर्ने अध्यक्ष रोकाले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार पछि दोस्रो ठूलो व्यापारीक बजार मालिका गाँउपालिमा रहेको दरबाड. बजार ईकाईमा ७ वटै वडाका व्यवसायीहरुलाई गोलबद्ध गर्न आग्रह गर्नुभयो ।

उद्योगी व्यवसायीहरुको व्यापार व्यवसाय पनि पर्यटन क्षेत्रको बृद्धिसंगै बढ्ने भन्दै स्थानीय सरकारसंग समन्वय गरेर यस ठाँउको पर्यटकीय पूर्वाधारको विकास र प्रचारप्रसार लाग्न अनुरोध गर्नु भयो । साथै नेपाल सरकारको कर नीति र उद्योगी व्यवसायीका समस्याहरु र व्यवसायीले पालना गर्नु पर्ने नीति नियमका बिषयमा पनि सहजीकरण गर्नु भएको थियो । मालिका गाउपालिकाका उपाध्यक्ष खरमाया बिटालुले उत्पादनमुलक र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । उद्यम गर्ने लाई गाउपालिकाले सघाउने उहाको भनाई थियो ।

इकाइका संस्थापक अध्यक्ष बिरबहादुर कार्कीले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । अध्यक्ष सिंउथानीले आगामी दिनमा यस क्षेत्रको मौलिक कला संस्कृति, पर्यटकीय क्षेत्रको प्रचार प्रसार र व्यापार व्यवसाय प्रर्बधन गर्न दरबाङ्ग महोत्सव गर्ने योजना रहेको सुनाउनुभयो । महोत्सव संचालनका लागि स्थानीय सरकार ,म्याग्दी उद्योग वाणिज्य संघ र सबैसंग सहकार्य गर्ने बताउनुभयो ।