सडक सुविधाले कृषकलाई सुन्तला विक्रिमा सहज
- १२ पुष २०७६, शनिबार
- 2513 पटक पढिएको
म्याग्दी, १२ पुष । सडक सुविधाले म्याग्दीका सुन्तला कृषकहरुलाई बगैचामा फलेको सुन्तला टिपेर बजार पठाउन सहज भएको छ। सुन्तला खरिद गर्न ब्यापारीहरु गाडी लिएर कृषकको बगैचामै पुगेपछि कृषकलाई सहज भएको हो ।निर्वाहमुखी खेतीलाई विस्तापित गर्दै सुन्तला खेती गरेर लाखौ आम्दानी गर्न सफल भएको अनुभव बेनी नगरपालिका–४ बास्कुनाका कृषक तिलक गुरुङको रहेको छ । उनले यस वर्ष बास्कुना र सुर्केमेलामा करिब चालीस लाख रुपैयाँको सुन्तला निकासी भएको जानकारी दिए । दुई सय बोटमा सुन्तला फलाएका गुरुङले पाँच लाख रुपैयाँमा ठेक्का दिएका छन् । परम्परागत रुपमा धान, मकै, कोदो, गहुँ खेतीको विकल्पमा गाउँभरी सुन्तलाका बिरुवा लगाएपछि ब्यापारी सवारीसाधन लिएर घरमै आएपछि बजारीकरणको समस्या हटेको बताए ।
बास्कुनाका १९ र सुर्केमेलाका ५ घरधुरी कृषकले व्यवसायिक सुन्तला खेती गरेका छन् । गाउँको सबै खेतबारीमा सुन्तलाका बिरुवा लगाएका छन् । घरले एक सय देखि सात सय बोट सुन्तला लगाएका छन् । सुर्केमेलाका रोशन क्षेत्रीले सडक र यातायात सुबिधा भएकाले सुन्तलाको बजारीकरणमा सजिलो भएको बताए । १५० बोटमा सुन्तला फलाएका क्षेत्रीले डेढ लाख रुपैयाँ मूल्य बराबरको करिब तीन हजार किलो सुन्तला काठमाडौ पठाएकाा छन् ।सुन्तला खेती गरेपछि घरखर्च चलाउन र छोराछोरी पढाउन विदेश जानु नपरेको स्थानीय दलप्रसाद घर्तीले बताए । दानाको आकार र गुणस्तर अनुसार ग्रेडीङ गरेर प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले सुन्तला खरिद गरेको नवरपरासीदेखि आएका ब्यापारि हरि तामाङले बताए ।
केही ठाउँमा दाना झर्ने र बोट सुक्ने समस्या देखिएपनि यसपालि म्याग्दीमा सुन्तला उत्पादन बढेको सुन्तला जोन सञ्चालक समितिका अध्यक्ष खिम पुनले बताए । म्याग्दीको सात सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको छ ।सडक पहुचले सुन्तलको माग बढेसंगै जिल्लामा सुन्तला खेतीलाई ब्यवसायिक रुपमा बढाउन थालेका छन् । केही वर्ष पहिलेसम्म स्थानीय बजारमा सिमीत म्याग्दीको सुन्तला अहिले पोखरा, काठमाडौ, नारायणघाट देखि जनकपुर लगायतका शहरमा पुग्न थालेको छ । बेनी नगरपालीको राखु, मरेक, बास्कुना, मंगला गाउँपालीकाको बरंजा, भोर्लेनी, अर्मन, कुहुँ, मालीकाको बिम, ओखरबोट, रुन्मा, धौलागिरीको ताकम क्षेत्रका कृषकका बगैचामा लटरम्म फलेका सुन्तला बोटबाटै बिक्री हुन थालेपछि कृषकहरु उत्साहीत भएका छन् । रघुगंगा गाउँपालीकाको पिप्ले, भगवती, बेगखोला, अन्नपूर्णको दोवा, हिस्तान, घार, भुरुङ तातोपानी, नारच्याङ र दानाका कृषकले भने बेसीजनमा केही ढिला गरी सुन्तला बेच्ने गरेका छन् ।
वार्षिक सात करोड रुपैयाँ मूल्य बराबरको दुई हजार पाँच सय मेट्रिक्टन सुन्तला उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । सिचाई र रोगकिराको ब्यवस्थापन म्याग्दीको सुन्तला खेतीमा देखिएको मुख्य चुनौति हो । सुन्तलाखेतीको प्रर्वद्धनका लागि म्याग्दीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत सुन्तला जोन स्थापना भएको छ । म्याग्दी, पर्वत र बागलुङका ८ वटा स्थानीय तहका ५२ वटा वडालाई समेटेको जोन मार्फत कृषकहरुलाई सुन्तला खेतीमा सहयोग गरिएको परियोजनाका बरिष्ठ कृषि अधिकृत सुर्य बरालले बताए ।
पछिल्लो समय निर्वाहमुखी खेतीलाई विस्तापित गर्दै जिल्लामा सुन्तलाका विरुवा लगाउने कृषकको संख्या बृद्धि हुदै गएको छ ।