मतदानमा उत्साहजनक सहभागीता (फोटो फिचर)

  • ३१ बैशाख २०७४, आईतवार
  • 2403 पटक पढिएको

म्याग्दी, ३१ वैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचनको मतदानमा उत्साहजनक जनसहभागीता देखिएको छ । आईतबार बिहान ७ बजेदेखि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ । मतदानको समय सुरु हुनुअगावै सर्वसाधारणहरु आफ्नो मतदान स्थलमा पुगेर भोट हाल्नका लागि लामबद्ध भएका थिए ।

सबै मतदान केन्द्रहरुमा निर्धारीत समयमै मतदान सुरु भएको र उत्साहजनक सहभागिता रहेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । एक नगरपालीका, पाँच गाउँपालीका, ४५ वटा वडा रहेको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता मतदानमा सहभागि हुदैछन् ।

जिल्लाभर ७२ मतदान स्थल र १०२ मतदान केन्द्र छन् । निर्वाचित हुने २३७ पदका लागि ६०६ जना उमेद्वारहरु चुनावी मैदानमा रहेका छन् । गत वर्ष जारी भएको संबिधानले गरेको संघिय व्यवस्था कार्यान्वयनका लागि स्थानीय तहमा जनप्रतिनिधि चयन गर्नका लागि सर्वसाधारणले उत्सुकताका साथ मतदानमा सहभागिता जनाएका हुन् ।

जेष्ठ नागरीक, अपाङ्ग, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाईनमा बस्नु नपर्ने व्यवस्था मिलाइएको छ । धौलागिरी गाउँपालीका ७ को ताकमकी भिमकुमारी सुनारले लामो समयपछि जनप्रतिनिध चयनसंगै दलित र महिला पनि नेतृत्वमा पुग्ने अवसर पाएकोमा खुसी लागेको बताउनुभयो ।

मतदाताहरुले निर्वाचनपछि विकासले गति लिने, सार्वजनिक निकायमा देखिएको बेतिथी हट्ने, राज्यको सेवा सुबिधामा सहज पहुँच स्थापीत हुने अपेक्षा गरेका छन् । पहिलो अभ्यास, ठूलो मतपत्र, मतदाता शिक्षाको कमी, दलहरुको तालमेलका कारण मतदान गर्न अठ्यारो महशुस भएको धौलागिरी गाउँपालीका ७ ताकमका रमाकान्त पौडेलले बताउनुभयो ।


मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा विगतको तुलनामा यसपालीको निर्वाचनमा मत बढर बढी हुने उहाँको भनाई छ । धेरै मतदाताहरु खुल्ला सदस्य पदमा मतदान गर्ने क्रममा अलमलमा परेको बताएका छन् । भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा सर्तकता अपनाइएको छ ।

एउटा मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी र दुई जनाका दरले स्वमसेवक परिचालन भएका छन् । मतदान स्थलको पहिलो घेरामा जनपथ, दोस्रोमा शसस्त्र र तेस्रोमा नेपाली सेनाले सुरक्षा दिएका छन भने म्यादी प्रहरीले भिड र लाईन ब्यवस्थापनमा खटिएका छन् ।

रघुगंगा गाउँपालिका–२ का ९६ बर्षिय भिमबहादुर कटुवालले निर्वाचनमा भोट हाल्न पाएकोमा खुसी व्यक्त गर्दै गाउँमा विकास निर्माणले गति लिने अपेक्षा गर्नुभएको छ ।