बेनीको फोहोर व्यवस्थापन : तलब नपाएपछि कर्मचारीले रोके काम, उठ्न छाड्यो फोहोर (भिडियो सहित)

  • ४ पुष २०७६, शुक्रबार
  • कमल खत्री
  • 2834 पटक पढिएको

म्याग्दी ४ पुस । म्याग्दी सदरमुकाम बेनीको फोहोर व्यवस्थापनको कार्य रोकिएसंगै बजार क्षेत्रको फोहोर उठ्न छाडेको छ । फोहोर व्यवस्थापनको जिम्मा लिएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रा.लि मार्फत फाहोर व्यवस्थापनमा कार्यरत कर्मचारीले समयमै तलब नपाएपछि उनीहरुले फोहोर संकलनको कार्य रोकेका हुन् । बेनीमा मङ्सिर अन्तिम सातादेखि नै फोहोर संकलन हुन सकेको छैन् । फोहोर संकलनमा कार्यरत मनकुमारी परियार, जुना दमाईले तीन महिना र चालक चित्रबहादुर बुढाथोकिले एक महिनाको पारिश्रमिक पाउन सकेका छैनन् ।

फोहोर संकलन सहयोगी परियार र दमाईले मासिक रु १९ हजार र चालक बुढाथोकिले रु २५ हजार तलब पाउने गरि काम गर्दै आएका थिए । पटक पटक तलब माग गर्दा समेत नगरपालिका र फोहोर संकलन गर्दै आएको प्रा.लि.बाट उपलब्ध नभएपछि आफुहरुले सवारी साधनको चाबि नै नियन्त्रणमा लिएर फोहोर संकलन कार्यलाई अबरुद्ध बनाएको फोहोर संकलन सहयोगी मनकुमारी परियारले बताईन् ।फोहोर संकलन कार्यमा कार्यरत कर्मचारी तलब माग गर्दै काम रोकेपछि बेनी बजारमा फोहोर व्यवस्थापनमा अल्झन आएको छ । दैनिक रुपमा ट्याक्टर र कम्प्याक्टर मार्फत बजारको फोहोर संकलन गरि व्यवस्थापन गरिँदै आएको कार्य रोकिएसंगै बजारक्षेत्रका चोक र खाली ठाउँहरुमा फोहोरको समस्या बढ्न थालेको छ । बेनी बजार क्षेत्रबाट निस्कने फोहोरलाई मोहोरमा रुपान्तरण गर्ने गरि बेनी नगरपालिका र मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रा.लि पोखरासंग फोहोर व्यवस्थापनको सम्झौता भएको थियो ।

सम्झौता बमोजिम बजारबासीबाट फोहोर व्यवस्थापनको लागि लिईने शुल्कमध्ये ४० प्रतिशत रकम नगरपालिका र ६० प्रतिशत रकम फोहोर व्यवस्थापन गरे बापत प्रालिले लिने र फोहोर व्यवस्थापनमा खटिने कर्मचारीको तलब र सवारी साधनको मर्मत र इन्धन खर्च प्रा.लि.ले व्यहोर्ने उल्लेख छ । कर्मचारीलाई दिनुपर्ने तलब दिन प्रा.लि.ले आनाकानी गरेको कारण कामै रोकेर तलब पाउनको लागि विभिन्न निकायमा गुहार माग्नुपरेको पिडित मजदुरहरुको भनाई छ ।

दिनभरी फोहोरमा काम गर्नुपर्ने र विहान बेलुका छाक टार्ने रकम समेत नपाउँदा आफुहरु समस्यामा परेको अर्का पिडित फोहोर व्यवस्थापन सहयोगी जुना दमाईले गुनासो गरिन् । ‘‘ असोज महिनादेखि तलब पाएका छैनौँ, नगरपालिकामा आउँदा प्रा.लि.ले दिने र जिम्मा लिएको कम्पनीलाई माग्दा नगरपालिकाबाट शुल्क बापतको पैसा नपाएकाले तलब दिन नसकेको जबाफ मात्रै आउँछ, हामीले काम गरे बापतको पैसा माग्दा समेत यसरी गुहार माग्नुपर्ने अबस्था आयो’’–उनले गुनासो गरिन् । आफुहरुले तलब नपाउँदा घरभाडा, खाद्यान्न लगायतको खर्च चलाउनै मुस्किल परेको र दैनिकी नै अस्तव्यस्त बन्ने अबस्था आएपछि काम रोक्न बाध्य भएको मजदुरहरुको भनाई छ ।

यता बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद शर्माले मजदुरको तलब नदिने प्रा.लि.का सञ्चालक र पिडित मजदुरलाई राखेर समझदारीको प्रयास गरिएको बताए । उनका अनुसार, प्रा.लिले नगरपालिका मार्फत पाउने शुल्क बापतको रकममध्ये हालसम्म ३५ हजार मात्रै बाँकी रहेको र अन्य रकम उपलब्ध गराईसकिएको जानकारी दिए । ‘‘ बजारमा केही उपभोक्ताले फोहोर शुल्क नतिरेको देखिएको छ, त्यो शुल्क समेत उठाउनको लागि कार्यालयले आबश्यक कदम चालिसकेको छ, फोहोर संकलन कार्यलाई सुचारु गराउन समन्वय गरिरहेका छौँ’’–उनले भने ।
                                   पाउने रकम सबै पाउन नसक्दा तलब दिन सकिनः ठेकेदार
बेनी नगरपालिकासंग सम्झौता गरि फोहोर व्यवस्थापनको जिम्मा पाएको प्रा.लिका सञ्चालक यामबहादुर दमाईले सबै उपभोक्ताबाट शुल्क नउठेको कारण आफुले प्राप्त गर्नुपर्ने रकम सबै पाउन नसक्दा तलब दिन समस्या भएको जिकिर गरे । ‘‘म आफै मजदुर हो, मैले मजदुरलाई पिडा दिने कुरै हुँदैन, नगरपालिकालाई शुल्क बापतको रकम दिनुस भनेको छु, पाउँदासाथ उनीहरुको सबै तलब उपलब्ध गराउँछु भनेको छु, तर फोहोर नै संकलन गर्न अवरोध सिर्जना गर्ने कामले समस्या निम्त्याएको छ’’–उनले भने । कर्मचारीले सवारी साधनको चावि नै नियन्त्रणमा लिएर काम रोक्दा बजारबाट संकलन हुने फोहोर व्यवस्थापन गर्न आफु समस्यामा परेको उनको भनाई छ । यस प्रा.लिले बेनी बजार र गलेश्वर क्षेत्रमा संकलन हुने फोहोरलाई बेनी–गलेश्वर सडक खण्ड अन्र्तगत ठुलो पहिरोमा निर्माण गरिएको सरसफाई केन्द्रमा प्रशोधन गरि कुहिने र नकुहिने फोहोरलाई बर्गिकरण गरि फोहोरबाट मोहोरमा रुपान्तरण गर्दै आएको छ । प्रशोधन गरि कबाडी सामाग्रीको आम्दानीबाट प्रा.लि.ले नै आम्दानी गर्दै आएको छ ।
                       नगरपालिकाबाट अमानविय व्यवहार भयोः मजदुर
बेनी नगरपालिका–३ भकिम्लीकी मनकुमारी परियारले बेनी नगरपालिकामा फोहोर व्यवस्थापनको काम गर्न थालेको १४ बर्ष भयो । तत्कालिन अथुङ्गे गाविस रहँदा सुरुमा मासिक १ हजार ४ सय रुपैयाँ तलब पाउने गरि फोहोर संकलनको काम थालेकी परियारले नगरपालिकाले आफुहरुमाथि अन्याय गरेको गुनासो गरिन् । करार कर्मचारीको रुपमा रहेर बर्षौदेखि फोहोर व्यवस्थापनको काम गर्दै आएपनि पछिल्लो पटक भने नगरपालिकाले फोहोर व्यवस्थापनको नाममा आफुहरुलाई समेत जानकारी नदिइकन करार कर्मचारीबाट हटाएर ठेकेदार मार्फत तलब बुझ्ने गरि झमेला काम गरेको गुनासो गरिन् ।

‘‘हामीले नगरपालिकाकै कर्मचारीको रुपमा काम गर्न चाहन्थ्यौँ, तर फोहोर व्यवस्थापनको जिम्मा लिने ठेकेदारको जिम्मा लगाएर हाम्रो रोजीरोटीलाई खोस्ने काम भएको छ’’–उनले भनिन् । अहिले प्रा.लि.ले तलब नदिएपछि परियार लगायतका मजदुरहरु आन्दोलित नै बनेका छन् । उनीहरुले तलब बापतको रकम दिलाईदिन मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)लाई समेत गुहारेका छन् । ‘‘ म सुत्केरी हुँदा समेत बजारबाट फोहोर उठाएको छु, हामी दुखीको श्रम चल्ने तर बचन नबिक्ने रहेछ, दैनिक रुपमा फोहोरको काम गर्दापनि तलब माग्दा हारगुहार नै गर्नुपरेको छ’’–उनले दुखेसो पोखिन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l