इमान्दारिताको नमुना कार्य : नगद सहित भेट्टाएको झोला युवा व्यवसायि शर्माले गरे फिर्ता !
- ३ पुष २०७६, बिहीबार
- 4315 पटक पढिएको
म्याग्दी ३ पुस । म्याग्दीका एक युवा व्यवसायिले बाटोमा भेट्टाएको नगद र चेक सहितको महोत्वपूर्ण सामाग्रीहरु सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गर्नुभएको छ । विहिवार अपरान्त अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनी देखि दानातर्फ जाने क्रममा जिपको झ्यालबाट खसेर हराएको झोला फेला पार्नुभएका रघुगंगा गाउँपालिका–२ पञ्चासेका झलक शर्माले सम्बन्धित व्यक्तिको खोजी गरि सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
बेनी –गलेश्वर सडकखण्ड अन्र्तगत जलेश्वरको बिच सडकमा भेटिएको सो झोलामा रहेको ५० हजार २२५ रुपैयाँ नगद, ५९ हजार रुपैयाँ बराबरको बैंकको चेक, २ थान नागरिकताको प्रमाणपत्र, औषधि, मोवाईल लगायतका सामाग्रीलाई गलेश्वर प्रहरी चौकीमा जनप्रतिनिधिको रोहोबरमा शर्माले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्नुभएको थियो ।
बेनीमा मेघावान कन्ट्रक्सन व्यवसाय सञ्चालन गर्दै आउनुभएका शर्माले मोटरसाईकल मार्फत यात्रा गर्दा सडकमा झोला देखेपछि कसैले खसालेको हुनसक्ने आसंकामा झोलालाई टिप्नुभएको थियो । भेटिएको झोलामा नगद, चेक, मोवाईल र नागरिकता लगायतका महत्वपूर्ण कागजात देखेपछि सम्बन्धित व्यक्तिको खोजीमा लाग्नुभएका आचार्यले चेकको पछाडी लेखिएको मोवाईल नम्बर मार्फत सम्बन्धित मान्छे पत्ता लगाउनुभएको थियो ।
‘‘सुरुमा चेक नम्बरमा रहेको मोवाईल नम्बरमा सम्पर्क गरे, फोन उठाउँदा सम्म उहाँलाई आफ्नो सामान हराएको जानकारी समेत रहेनछ, पछि तपाईको सामाग्री हेर्नुहोस भन्दा उहाँले झोला हराएको थाहा पाउनुभयो, उहाँले भनेका आफ्नो झोलामा रहेका सामान र भेटिएको झोलामा रहेका सामान मिलेपछि प्रहरी र जनप्रतिनिधिको रोहोबरमा हस्तान्तरण गरेको हुँ’’–शर्माले भन्नुभयो ।
जिप चढेर बैसरीमा पुग्नुभएकी थापा आफ्नो सामान हराएर पनि कसैले फेला पारेको सुचना पाएसंगै सामान बुझ्नको लागि आँखामबाट आँसु खसाल्दै गलेश्वर फर्कनुभएको थियो । आफ्नो हराएको सामाग्री फेला पारि पुन आफैलाई उपलब्ध गराएकोमा उहाँले शर्मालाई धन्यबाद ज्ञापन समेत गर्नुभयो । हराएको सामाग्री फेला पारेर आफैले सम्बन्धित मान्छे खोजी गरि सामान फिर्ता गरेर शर्माले इमान्दारीताको नमुना कार्य गरेको भन्दै वडा अध्यक्ष बेलबहादुर चोखालले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।