गलेश्वर–पिप्ले–भगवती सडक स्तरोन्नतीमा प्रयोग गरिएका निर्माण सामाग्रीको गुणस्तर परिक्षण गरिँदै
- २९ मंसिर २०७६, आईतवार
- 3421 पटक पढिएको
म्याग्दी, २९ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती हुदै बेग जोड्ने सडक कालोपत्रे सहित स्तरोन्नति गर्ने योजनामा प्रयोग गरिएका निर्माण सामाग्रीको गुणस्तर परिक्षण हुने भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालित यस आयोजनामा निर्माण कम्पनीले गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेको गुनासो आएपछि आईतवार स्थलगत अनुगमन गरिएको छ ।
कार्यालयका इन्जीनियर सन्तोष अर्याल लगायतको टोलीले निर्माण स्थलमा प्रयोग गरिएका सामाग्रीहरुको गुणस्तरबारे अनुगमन गरेको हो । पिप्ले स्थित स्वास्थ्य चौकी नजीकैको घुम्तीमा निर्माण गरिएको पर्खालमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरिएको गुनासो आएपछि अनुगमन गरि सो पर्खाललाई भत्काएर पर्खालमा प्रयोग गरिएका ढुंगा र बालुवा र सिमेन्टको मिश्रणलाई परिक्षणको लागि नमुना संकलन गरिएको ईन्जिनियर अर्यालले जानकारी दिए ।
उनका अनुसार, पर्खालमा प्रयोग गरिएका ढुंगाहरु केहिमा माटो लागेको भेटिएको थियो । निर्माण कम्पनीले प्रयोग गरेका ढुंगा,बालुवा लगायतका निर्माण सामाग्रीको गुणस्तर परिक्षणको लागि संकलन गरिएको नमुना पश्चिमाञ्चल ईञ्जिनियर कलेजमा पठाईनेछ । एक साताभित्रै रिपोर्ट आउने जनाईएको छ । पर्खाल निर्माण गर्दा माटो मिसिएको बालुवा र सिमेन्ट र गुणस्तरहित ढुंगाको प्रयोग गरेको पाईएपछि आफुले यसबारे सम्बन्धित निर्माण कम्पनी र कार्यालयलाई समेत ध्यानकर्षण गराएको नेकपा रघुगंगा गाउँकमिटिका अध्यक्ष दिपक कार्कीले बताए ।
उनले अनुगमन टोलीले मेसिनरी पर्खाल निर्माण गर्दा माटै माटो भएको ढुंगाको प्रयोग नगर्न अनुगमन टोलीले निर्देशन दिएपनि आयोजनाको कामलाई निरन्तर रुपमा अनुगमन गर्नुपर्ने समेत बताए । आठ किलोमिटर दुरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक स्तरोन्नतिका लागि एपेक्स–खड्का कृष्ण जे.भी काठमाडौसंग १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७६ जेठ २७ गते सम्झौता गरि दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित कार्यक्षेत्रमा परिचालित निर्माण कम्पनीले हालसम्म ३५ प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । निर्माण कम्पनीले भने स्तरीय निर्माण सामाग्रीको प्रयोग गरि काम गर्न प्रतिबद्ध रहेको प्रतिक्रिया दिएको छ ।
हाल कच्चि, उकालो, ग्रेड र मोड नमिलेको यस सडक आयोजना मार्फत ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गरिनेछ । आयोजना मार्फत सडक फराकिलो बनाउने, ग्यावियन जाली, ढुङ्गाको पर्खाल लगाउने, नाली बनाउने, ह्युम पाइप, कज्वे र बायो इञ्जिनियरीङ गरिनेछ । दशकअघि ट्याक खुलेको यो सडक कच्ची भएको कारण अहिलेसम्म बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत जावतका लागि स्थानीयबासीलाई सास्ती भएको छ ।