तातोपानीमा बाथरोग सम्बन्धि शिविर सम्पन्न

  • २८ मंसिर २०७६, शनिबार
  • 1906 पटक पढिएको

म्याग्दी २८ मंसिर । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्ड परिसरमा शनिवार निशुल्क बाथरोग शिविर सम्पन्न भएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिको आयोजना र नेशनल बाथरोग सेन्टर पोखरा शाखाको प्राविधिक सहयोगमा सम्पन्न एक दिने शिविरमा १७० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

कुण्डमा उपचारको लागि आएका विरामी र स्थानीयबासीले शिविरबाट सेवा लिएको कुण्ड व्यवस्थापन समितिका सहसचिब कुमार केसीले जानकारी दिए । शिविरमा बरिष्ठ बाथ रोग विशेषज्ञ टाक्टर विनित बैद्य,मनिसा भोछिभोय, कल्पना पुडासैनी लगायतको टोलीले स्वास्थ्य परिक्षण सेवा दिएका थिए ।

प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्ड परिसरमा हरेक बर्ष विभिन्न शिविरको आयोजना गरिँदै आईएको छ । वडा नम्बर ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलको समेत बिशेष उपस्थिति रहेको शिविर समापन कार्यक्रममा कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्य र सचिब कृष्ण खड्काले कुण्डको महत्व र अबस्थाबारे प्रकाश पारेका थिए भने शिविरमा उपचार गर्ने डाक्टरहरुको टोलीलाई सम्मान समेत गरिएको थियो ।