मंगला गाउँपालिकाले विद्यालयमा सेनेटरी प्याड वितरण

  • १६ मंसिर २०७६, सोमबार
  • 2059 पटक पढिएको

 

म्याग्दी १६ मंसिर । महिनावारीको समयमा छात्रा विद्यालय नआउने समस्या हटाउन म्याग्दीको मंगला गाउँपालिकाले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको छ । लैङ्गिक हिंसाविरुद्धको सोह् दिने अभियान अन्तरगत ३, ४ र ५ नम्बर वडाका पाँच वटा विद्यालयमा आइतबार एक एक सय थान सेनेटरी प्याड वितरण गरेको हो । बरंजाको जनप्रिय आधारभूत, महेन्द्ररत्न मावि, महेन्द्ररत्न आधारभूत, किमचौरको बिष्णु राष्ट्रिय आधारभूत र अर्मनको शिशूकल्याण माविमा प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, कर्मचारी रतिका मिजार र सिजन रोकाको टोलीले विद्यालयमै पुगेर प्रअ तथा शिक्षकहरुलाई प्याड उपलब्ध गराएकी थिइन । महिनावारी भएका छात्राहरुलाई उपलब्ध गराउने गरि विद्यालयमा प्याड वितरण गरिएको हो । महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने समस्याका कारण उनिहरुको पढाइमा असर परेको छ । यस्तो समस्या नहोस र सहज होस भनेर प्याड उपलब्ध गराएको उपाध्यक्ष केसीले बताए ।बिष्णु राष्ट्रिय आधारभूतका प्रअ गुप्तबहादुर रोका र महेन्द्ररत्न आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर रोकाले विद्यालयमा सेनेटरी प्याड उपलब्ध भएपछि छात्राहरुलाई सहज हुने बताए ।