उप निर्वाचन: बागलुङमा  मतदान जारी

  • १४ मंसिर २०७६, शनिबार
  • 1663 पटक पढिएको

बागलुङ १४ मंसिर । आज सम्पन्न हुन लागेको उप निर्वाचन अन्तर्गत गण्डकी प्रदेशसभा सदस्य र वडा अध्यक्षका लागि बागलुङमा मतदान सुरु भएको मतदान जारी छ ।   बागलुङ क्षेत्र नम्बर -२ (ख) को प्रदेशसभा सदस्य र बडिगाड गाउँपालिका-२ को वडाध्यक्षका लागि उप निर्वाचन हुँदैछ। मतदान  बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । निर्वाचन शान्तिपुर्ण ढंगले सन्चालन भएको छ ।

मतदान साँझ ५ बजे सम्म जारी रहनेछ। प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि ४३ र वडाध्यक्षको उपनिर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकिएको छ। स्वयंसेवक समेत गरी कूल ४ सय ५ जना कर्मचारी उपनिर्वाचनमा परिचालित रहेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए।

प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १० उम्मेदवार चुनावी मैदानमा छन्। सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट नीमबहादुर भण्डारी उम्मेदवार छन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा छन्।

स्वतन्त्र उम्मेदवार घर्तीले वत्तव्य मार्फत उम्मेदवारी फिर्ता लिए पनि चुनाव चिन्ह क्लिप छ । जसमा केही समूहले फरको जिल्लाको माग सहित मत मागेको छ। प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।

यसैगरी, बडिगाड गाउँपालिका वडा नम्बर-२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो। वडाध्यक्ष पदमा सत्तारूढ नेकपाबाट ढालप्रसाद शेरचन, नेपाली कांग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा छन्। मतदानका लागि बिहान देखि मतदाताहरु लाईनमा  छन ।