वारीबेनीमा ‘लिफ्ट’ खानेपानीको परिक्षण सफल

  • १३ मंसिर २०७६, शुक्रबार
  • 2699 पटक पढिएको

 

म्याग्दी १३ मंसिर । पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा ‘लिफ्ट’ प्रबिधिको खानेपानी आयोजना निर्माण भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परिक्षणका लागि पानी वितरण सुरु गरेको उपभोक्ता समितिले जनाएको छ । पानी तान्ने पम्पको परिक्षण सफल भएको समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए । ‘कालीगण्डकी किनारबाट रिजर्भ टंकीसम्म पानी तान्ने उपकरणको परिक्षण सफल भयो,’ अध्यक्ष रेग्मीले भन्नुभयो ‘मंगलबारदेखि वितरण र शाखा पाइपलाइनको परिक्षण सुरु गरेका छौ ।’ बगरफाँट क्षेत्रको मुख्य र वितरण पाइपलाइनको परिक्षण सकिएको छ ।

पानी थिग्राउने पोखरी, वरीबेनी र लामाखेतको वितरण लाइन परिक्षण सफल भएपछि नियमित खानेपानी वितरण सुरु गरिनेछ । कालीगण्डकी किनारको जुगेधारामा प्रति सेकेण्ड १२ लिटर पानी तान्ने क्षमत्ताको समसिवल वयल पम्प जडान गरिएको छ । जुगेधाराको पानी १५० मिटर उचाइमा रहेको टंकीमा विद्युतीय उपकरण प्रयोग गरेर पु¥याइएको छ । मुहानदेखि टंकी सम्मको दुरी ७५० मिटर छ । मुहानमा पानी तान्ने सम्पवयल पम्प, पानी संकलन गर्ने टंकी निर्माण भएको छ ।

चार लाख लिटर क्षमताको फेरो टंकी, दुई वटा पानी छान्ने र थिग्राउने पोखरी, कार्यालय भवन, मुख्य पाइपलाइन निर्माण गरिएको छ । १५ किलोमिटर मुख्य पाइपलाइन निर्माण भएको छ । पम्प, टंकी, भवन, पोखरी र मुख्य पाइपलाइन निर्माणका लागि चन्द्र एण्ड बसन्त एएम जेभीले १० करोड ३० लाख रुपैयाँमा ठेक्का लिएको थियो । उपभोक्ता समितिसंग वितरण पाइप लाइन सहितको पूर्वाधार बनाउन दुई करोड १२ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

सरकारको ७० र उपभोक्ताको तीस प्रतिशत लगानीमा वि.स २०७४ कात्तिक देखि खानेपानी डिभिजन कार्यालयले आयोजना निर्माण सुरु गरेको थियो । आयोजनाबाट जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्ने बगरफाँट, वारीबेनी र लामाखेतका ९५५ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका कोषाध्यक्ष डिलबहादुर बरुवालले जानकारी दिए । प्रत्येक घरमा मिटर सहितको निजी धारा निर्माण भएको छ । संघीय सरकार मार्फत सञ्चालित यो आयोजना धौलागिरि क्षेत्रकै ठूलो हो ।

खानेपानी तथा ढल निकास बिभागको सहरीकरण उन्मुख बस्तीहरुका लागि सञ्चालित सहलगानी कार्यक्रम अन्तरगत आयोजना निर्माण भएको हो । उपभोक्ताले पहिलो चरणमा प्रतिघर १५ हजार रुपैयाँका दरले नगद संकलन गरेका थिए । अहिले बढाएर प्रतिघर बीस हजार रुपैयाँ कायम गरिएको छ ।

म्याग्दीको सदरमुकाम बेनी बजारसंगै रहेको वारीबेनी, बगरफाँट र लामाखेतमा तिब्र रुपमा बस्ति विस्तार भएको छ । बस्ति माथि खानेपानीको स्रोत नभएकाले लिफ्ट प्रबिधि अपनाइएको हो । सो क्षेत्रमा खानेपानीको हाहाकार भएपछि व्यक्तिगत लगानीमा घरमा पानी ल्याउने गरेका थिए ।