मच्छिम र काफलडाडामा विधुत सुविधा

  • १२ मंसिर २०७६, बिहीबार
  • 2333 पटक पढिएको

 

म्याग्दी, १२ मंसिर । जिल्लाको म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिम र काफलडाँडामा केन्द्रीय प्रशारण लाइनको विद्युत सुबिधा पुगेको छ । नेपाल विद्युत प्राधिकरण र धवलागिरी गाउँपालिकाको सहयोगमा बुधबार देखि बिजुली बलेको हो । साविक ताकम गाविसको ८ नम्बर वडामा पर्ने मच्छिमका ११२ र काफलडाँडाको ४२ घरमा बिजुली बलेको ताकम विद्युतिकरण उपभोक्ता समितिका सचिव तेजेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि ताकम, हिलापोखरी र शिवाङका ३५० घरमा बिजुली बलिसकेको छ । बिजुली बलेपछि स्थानीयबासीमा खुसीयाली छाएको काफलडाडाका बालकृष्ण आचार्यले बताउनुभयो । काफलडाडाका बासिन्दाले विद्युत प्राधिकरणका प्राबिधिक र उपभोक्ता समितिका पदाधीकारीहरुलाई सम्मान गरेका थिए ।

उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न, मोवाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको स्थानीय शिक्षक हेमराज शर्माले बताउनुभयो । खाना पकाउन दाउराको विकल्पमा विद्युतीय उपकरण प्रयोग गर्न थालेका छन् ।  फर्नीचर, ब्लक, राइसमील, कुखुरापालन सञ्चालन गर्न सकिने भएको छ । यसअघि उज्यालोका लागि पेल्ट्रिक सेट, सोलार र मट्टितेलको टुकी प्रयोग गर्दै आएका थिए । ताकम विद्युतिकरण योजना मार्फत ५५२ घरमा विद्युतिकरण गर्ने लक्ष्य थियो ।

आरखोला टोल र छिटपुट ४२ घर बाहेक वडाका सबै बस्तिमा विद्युतिकरण भएको सचिव थापाले बताउनुभयो । आरखोलामा पनि बिहीबार बिजुली बाल्ने तयारी भएको छ । यसअघि धारापानीमा २०१ घरमा गत वर्ष गाउँपालिकामै पहिलो पटक विद्युतीकरण भएको थियो । ताकम विद्युतीकरण धवलागिरी गाउँपालिकाले सञ्चालन गरेको गौरवको आयोजना भएको वडा अध्यक्ष कलानिधी सुवेदीले बताए । विद्युत प्राधिकरणले केन्द्रीय लाइन विस्तार, पोल गाड्ने, ट्रान्सफर्मर जडान, ढुवानी गरेको थियो ।

गाउँपालिकाबाट गत आर्थिक वर्षमा बिनियोजन भएको असी लाख रुपैयाँ मध्य ५७ लाख खर्चेर उपभोक्ता समितिले ८८ किलोमिटर तार खरिद गरेका थिए । धवलागिरी गाउँपालिकामा विद्युतीकरणका लागि संघीय सरकारले गत वर्ष बिनियोजन गरेको चार करोड पचास लाख बजेटबाट दुई वटा ठेकेदार कम्पनीलाई ठेक्का दिएको थियो ।

पहिलो चरणमा ढुङ्गाना निर्माण सेवा र दोस्रो चरणमा आचार्य निर्माण सेवाले ठेक्का पाएका थिए । दुवै कम्पनी मार्फत ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिममा ४१७ वटा पोल गाड्ने, पाँच थान ट्रान्सफर्मर ढुवानी गर्ने र करिब ६७ किलोमिटर मुख्य तथा सहायक लाइनको तार तानीएको प्राधिकरणको बेनी वितरण केन्द्रका इञ्जिनियर हेमराज चापागाइले बताए ।

ताकमका साथै मुना हुदै लमसुङ र मुदी गाउँ नजिकैसम्म केन्द्रीय लाइनको पोल गाडेर तार तानिएको छ । यस वर्ष प्रदेश सरकारले धवलागिरी गाउँपालिकाको विद्युतिकरणका लागि दुई करोड ८१ लाख रुपैयाँ बिनियोजन गरेको छ ।