बेनीमै बन्यो काठ चिर्ने ‘ट्रलि बेन्सो’ मेसिन (भिडियो सहित

  • ११ मंसिर २०७६, बुधबार
  • 5673 पटक पढिएको

म्याग्दी ११ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा एक व्यक्तिले नेपालमै पहिलो पटक काठ चिरान गर्ने ‘ट्रलि बेन्सो’ मेसिन निर्माण गर्नुभएको छ । बेनीको बालचन्द्र फर्निचर उद्योगमा मुख्य सिकर्मी पेशामा कार्यरत रहनुभएका पर्साका दिपेन्द्र पण्डितले गाडीको डिस र फलाम प्रयोग गरेर ट्रलि बेन्सो मेसिन निर्माण गर्नुभएको हो ।

ट्रलिमा हिँडाएर काठ भएकै ठाउँमा पुगेर काठ चिर्ने नयाँ बिशेषता सहितको ट्रलि बेन्सो मेसिन बनेको यो नेपालकै पहिलो रहेको उहाँले दावि गर्नुभयो । करिब दुई साता लगाएर निर्माण गरिएको सो मेसिनको परिक्षण समेत सफल भएको छ । कच्चा फलाम लगायतको सामाग्री र श्रम समेत गरि १ लाख ३० हजार खर्चमा ट्रलि बेन्सो मेसिन निर्माण भएको उद्योगका सञ्चालक बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

उहाँले स्थानीय आबश्यकता अनुसार निर्माण गरिएको बेन्सो मेसिनको परिक्षण सफल भएकाले नेपालमै बेन्सो मेसिनको व्यवसायिक उत्पादन गर्न सम्भव देखिएको बताउनुभयो । अहिले नेपालका फर्निचर उद्योगमा प्रयोग गरिने बेन्सो मेसिन भारतबाट आयात हुने गरेको छ । बेन्सो मेसिनलाई नेपाली रु ६ लाख सम्म मुल्य खर्चिनुपर्ने बाध्यता रहेको छ ।

अहिले फर्निचरहरुमा प्रयोग गरिने बेन्सो मेसिनमा काठलाई चिरान गराउनुपर्छ भने पण्डितले निर्माण गरेको ट्रफि बेन्सो मेसिनमा भने काठलाई राखेको ठाउँमा ट्रलि हुँदै मेसिन पुगेर काठ चिरान गर्ने मौलिक विशेषता रहेको छ । यो मेसिनमा काठलाई राखिसकेपछि एउटै व्यक्तिले मात्रैपनि सजिलै काठ चिरान गर्न सक्ने भएकाले यसको प्रयोगले लागत घटाउन समेत मद्धत पुग्ने अपेक्षा गरिएको छ ।