जलेश्वरमा मोटरसाईकल दुर्घटनामा तीन घाइते, गम्भिर दुईजनालाई हेलिकप्टर मार्फत पोखरा लगियो

  • १० मंसिर २०७६, मंगलवार
  • 9618 पटक पढिएको

म्याग्दी, १० मंसिर । म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन्। बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९ नम्बरको बाईक गलेश्वरदेखि बेनी आउँदै गरेको ध १ ज २३५ नम्बरको बोलेरो जिपसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार तीनै जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


एउटै मोटरसाईकलमा सवार रहेका रघुगंगा गाउँपालिका–६ पाखापानीका २३ बर्षिय सन्तोष थजाली र सोही गाउँका २५ बर्षिय अमर पाईजा र २० बर्षिय मनि पुर्जा घाईते भएका हुन् । उनीहरुमध्ये गम्भिर घाईते भएका सन्तोष र अमरलाई थप उपचारको लागि सिम्रीक एयरको हेलिकप्टर मार्फत पोखरा लगिएको छ ।


घाईते तीनै जनाको बेनी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । उपचारको क्रममा दुई जनाको अबस्था गम्भिर भएपछि पोखरा रेफर गरिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । घाईतेमध्येका मनी पुर्जाको अबस्था सामान्य रहेकाले उनको बेनी अस्पतालमै उपचार भैरहेको छ । प्रहरीका अनुसार, तिब्र गतिमा चलाएको कारण मोटरसाईकल अनियन्त्रीत भएर दुर्घटना हुन पुगेको पाईएको छ ।