दोस्रो गलकोट घुम्टे महोत्सवमा दर्शकको घुँईचो
- १० मंसिर २०७६, मंगलवार
- 2185 पटक पढिएको
थम्मन थापा
बागलुङ १० मंसिर । मंसिर ४ गते देखि गलकोटमा जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा यति बेला दर्शकको ओईरो नै लागेको छ । गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्य निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन महोत्सव आयोजना गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । महोत्सवमा प्रत्येक दिन स्थानिय कला संस्कृति झल्कने लोपोन्मुख सांस्कृतिक प्रस्तुति सालैजो, सोरठी, सराँय नाच, नौमति बाजा, भजन कृतन, ताराखोलाको सिस्नो खोस्ने पर्व, गलकोटको लाखे नाँच प्रस्तुत भईरहेको अध्यक्ष बस्नेतले बताए ।
महोत्सवमा अहिले सम्म झण्डै ३० हजार दर्शकले अवलोकन गरेको महोत्सव व्यवस्थापक मोहन केसीले जानकारी दिए । त्यस्तै महोत्सवमा दैनिक राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति रहेको व्यवस्थापक केसीले जानकारी दिए । गलकोट नगरपालिका ५ बसाहफाँटमा जारी महोत्सवमा छैठौं दिनसम्म विभिन्न प्रतियोगिताहरु सञ्चालन भईरहेका छन । अहिले पालिका स्तरिय पुरुष र महिला भलिबल प्रतियोगिता जारी रहेको खेलकुद संयोजक योगेश भण्डारीले जानकारी दिए ।
महोत्सवमा आकर्षकको रुपमा मानिएको हेलिकोप्टर मार्फत दृश्यअवलोकन प्रतिकुल मौसमका कारण आज (मंगलबार) उडान गर्ने तयारी भईरहेको हेलिकोप्टर व्यवस्थापन समिति सदस्य भुपेन्द्र खत्रीले बताए । हेलिकोप्टर मार्फत पर्यटकीय स्थलहरुको दृश्यावलोकन गर्न सकिने केसीको भनाई छ । महोत्सवमा लोपोन्मुख वस्तुहरु, जडिबुटी, हस्तकला प्रदर्शनीका सहित १ सय ३० वटा व्यापारिक स्टलबाट व्यापारिक कारोबार भईरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए ।
महोत्सवमा संकलित रकमबाट गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका प्रत्येक वडामा पर्यटकीय गन्तव्यहरुको पहिचान गरि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) तयार गरिने वरिष्ठ उपाध्यक्ष थापाको भनाई छ । दोस्रो गलकोट घुम्टे महोत्सवको सम्पुर्ण प्राविधिक व्यवस्थापन हिमालयन ईभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको छ । १३ वर्ष पछि सञ्चालन भएको दोस्रो गलकोट घुम्टे महोत्सवले विस्तारै दर्शकहरुको भिड बढाएको छ ।