धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न

  • ८ मंसिर २०७६, आईतवार
  • 2445 पटक पढिएको

 

म्याग्दी, ८ मंसिर । जिल्लाको धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा शनिबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।


चार करोड बाँडफाँड

गाउँसभाले गत आर्थिक वर्ष २०७५/७६ मा खर्च नभएर बाँकी भएको चार करोड रुपैयाँ बजेट बाँडफाड गरेको छ । असार १० गते भएको गाउँसभाले चौतीस करोड रुपैयाँको बजेट पारित गरेको थियो ।

डेढ करोड रुपैयाँ संघीय, प्रदेश सरकार र विभिन्न निकायले सञ्चालन गर्ने साझेदारीका योजना तथा कार्यक्रमका लागि समपुरक कोषका रुपमा बिनियोजन गरेको छ । वडा न. ४ मुदीलाई सडक सञ्जालमा जोड्न बीस लाख रुपैयाँ बिनियोजन भएको छ ।

सो योजनाको लागि संघीय सांसद भुपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत तीस लाख बिनियोजन भएको छ । अन्य योजनाहरुका लागि पनि दुई करोड योजना रुपैयाँ बिनियोजन भएको छ ।

गण्डकी प्रदेशको आर्थिक मामिला तथा आर्थिक मन्त्रालयले पठाएको एक करोड र जिल्ला समन्वय समितिले उपलब्ध गराएको साठी लाख रुपैयाँ पनि गाउँपालिकाको बजेटमा समावेश गरिएको छ ।

प्रदेशले पठाएको एक करोड रुपैयाँ मुना स्वास्थ्य चौकीको भवन र जिससको साझेदारीमा लुलाङमा वडा कार्यालय भवन बनाउने कार्यापालिकाको निर्णय गाउँसभाबाट अनुमोदन भएको प्रवत्ता छन्त्यालले बताए ।

नौ वटा बिधेयक र दुई वटा नियमावली पारित

गाउँसभाबाट धवलागिरी गाउँपालिकाको दुई वटा नियमावली र नौ वटा बिधेयक पारित गरेको छ । धवलागिरी गाउँपालिकाको सार्वजनिक खरिद नियमावली (२०७६) र बिधायन समिति सञ्चालन नियमावली (२०७६) पारित भएको छ ।

न्यायिक ऐन (२०७६), कृषि व्यवसाय प्रर्वद्धन बिधयक (२०७६), विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक (२०७६), पुर्वाधार व्यवस्थापन ऐन (२०७६), स्वास्थ्य बिधेयक (२०७६), स्थानीय कर्मचारी व्यवस्थापन ऐन (२०७६), शिक्षा ऐन (२०७६), सहकारी ऐन पहिलो संसोधन (२०७६) र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन (२०७६) पारित भएको हो ।

बिधायन समितिका संयोजक झकबहादुर छन्त्यालले पेश गरेको बिधेयक सदस्य देउप्रसाद छन्त्यालले प्रस्तुत गरेका थिए ।

ऐन र नियमावलीको आधारमा सेवा प्रवाह, योजना तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सहज हुने उपाध्यक्ष रेशम छन्त्यालले बताए । गाउँसभाको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले सहजिकरण गरेका थिए ।