विद्यालाई जिताउन पोखरामा रहेका म्याग्देलीहरुको प्रचार प्रसार उपसमिति गठन
- ४ मंसिर २०७६, बुधबार
- 1920 पटक पढिएको
म्याग्दी ४ मंसिर । कास्कीको निर्वाचन क्षेत्र २ मा हुन लागेको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विद्या भट्राई अधिकारीलाई बिजयी गराउन पोखरामा रहेका म्याग्देलीहरुले समेत प्रचार अभियान थालेका छन् । पोखरामा बसोबास गर्ने नेकपा समर्थित म्याग्देलीहरुको एक भेलाले क्याप्टेन बलबहादुर पुनको संयोजकत्वमा उपनिर्वाचन सहयोग प्रचार प्रसार उपसमिति गठन गरेको हो ।
पोखरामा बस्दै आएका म्याग्देलीहरुको बृहत भेलाले प्रचार प्रसार उपसमिति गठन गर्दै अधिकारीलाई निर्वाचनमा बिजयी गराउन घरदैलो गर्न सुरु गरेका छन् । भेलामा बोल्दै उम्मेदवार अधिकारीले नेकपाको बलियो सरकार बनेको अबस्थामा आफुले पोखराको विकास र समृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता जनाएकी थिईन् । उनले सामाजिक न्याय सहितको विकास र समृद्धि अहिलेको आबश्यकता रहेको बताउँदै त्यसतर्फ आफ्नो भुमिका रहने बताईन् ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल र अनेरास्ववियूका नेता प्रकाश पौडेलले नेकपा उम्मेदवार अधिकारी प्राज्ञिक र सक्षम व्यक्तित्व रहेको र तत्कालिन पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीले पोखराको विकासमा अघि सारेका विकास र समृद्धिका योजनालाई कार्यान्वयनको लागि नेकपा उम्मेदवारलाई बिजयी गराउन आबश्यक रहेकोमा जोड दिएका थिए भने कार्यक्रमको सञ्चालन किरण सापकोटाले गरेका थिए ।