रुईसेमा पूर्वाधारले पर्यटक आकर्षित,आन्तरिक पर्यटकको आगमन बढ्यो (फोटो फिचर)
- ३ मंसिर २०७६, मंगलवार
- कमल खत्री
- 5029 पटक पढिएको
कमल खत्री
म्याग्दी ३ मंसीर । केहि बर्ष अघि सम्म ओझेलमा परेका म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार निर्माण संगै पर्यटकको आगमन समेत बढ्न थालेको छ । संघियता कार्यान्व्यन संगै स्थानीय तहहरुको अगुवाईमा पर्यटन पूर्वाधार निर्माण भैरहेका छन् । नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गर्दै संघ र प्रदेश सरकारले समेत पर्यटन पूर्वाधार बनाउन स्थानीय तहहरुसंग सहकार्य गरेका छन् ।
ओझेलमा परेका पर्यटकीय स्थलहरुमा पदमार्ग संगै खाना र बसोबासको लागि होटल तथा रिसोर्ट, दृष्य अवलोकनका लागि भ्यू–टावर लगायतका पूर्वाधार बनाउने काम भैरहेको छ । पर्यटकीय पूर्वाधार निर्माणले पर्यटकहरुको आगमन ह्वात्तै बढाएको छ । यतिबेला म्याग्दीका पर्यटकीय स्थलहरुमा पर्यटकहरुको चहलपहल बढेको छ । फुर्सदको समयमा ‘घुम्ने’ संस्कृतिको विकासले पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको रघुगंगा गाउँपालिका–२ भगवतीका वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए ।
उनका अनुसार, भगवतीको रुईसे –भेडिओढार क्षेत्रमा पदमार्ग, भ्यु–टावर लगायतका पूर्वाधारले यतिबेला आन्तरिक पर्यटकहरुको आगमन बढाएको छ । गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित रुईसे–भेडिओढार क्षेत्रमा अहिले दैनिक रुपमा पर्यटकहरु भित्रिरहेका छन् । गाउँपालिका र संघिय सरकारको साझेदारीमा यहाँ पदमार्ग, भ्यु –टावर र भ्यु–प्वाइन्ट निर्माण गरिएको छ ।
रुईसेदेखि–थापाकोटको भ्यु–टावर जाने व्यवस्थित पदमार्ग निर्माण भएको छ । दुई बर्षमा थापाकोटमा भ्यु–टावर निर्माण भएको छ । यहाँबाट अन्नपूर्ण र धवलागिरि रेञ्जका हिमालहरुसंगै म्याग्दी, पर्वन र बागलुङका दर्जनौँ बस्तीहरुलाई अवलोकन गर्न समेत सकिने भएकाले भ्यु–टावर निर्माण पछि पर्यटकहरुको आगमन बढेको वडा अध्यक्ष कटुवालले बताए । रुईसेमा गाउँपालिकाले ३० लाख लगानीमा भ्यु टावर र सौचालय निर्माण गरेको छ भने तालिम केन्द्रको लागि भवन र बनभोज स्थल समेत निर्माण गरिसकेको छ ।
यो बर्ष पदमार्ग निर्माणलाई पूर्णता दिन र टावर वरपरको घेरावारको लागि रु १० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिए । रुइसेसंगै भेडिओढारमा समेत पर्यटन पूर्वाधार बनाइएको छ । भेडिओढारको विशाल ढुंगाको भ्यु पोइन्टमा संघिय सरकार मार्फत विनियोजित बजेट मार्फत गोलघर सहित सुरक्षाको लागि रेलिङ बनाइएको वडा कार्यालयले जनाएको छ ।
होटल खुल्न थाले
म्याग्दी सदरमुकाम बेनीबाट सवारी साधनमा साढे १ घण्टा र पैदल यात्रा मार्फत एक विहानको दुरीमा रहेको रुईसेमा आन्तरिक पर्यटकहरुको आगमन हुन थालेसंगै स्थानीयले खाना र खाजाको सुविधाको लागि होटल सञ्चालन गर्न सुरु गरेका छन् । परम्परागत रुपमा पशुपालनको लागि गोठ राख्दै आएका स्थानीयले पर्यटकहरुलाई खाजा र खानाको लागि होटलहरु सञ्चालन गर्न थालेका हुन् ।
अहिले रुईसेमा स्थानीय तीन जनाले सामान्य होटल व्यवसाय सञ्चालन गरेका छन् । भ्यु टावरको संरक्षण र व्यवस्थापनको लागि गाउँपालिकाले प्रतिस्पर्धा मार्फत होटल सञ्चालन प्रयोजनको लागि भ्यु टावरलाई भाडामा लगाउने तयारी गरेको छ । स्थानीय स्तरबाट समेत सुविधा युक्त होटल सञ्चालनको तयारी भएको छ ।
पर्यटक लोभ्याउँने दृष्य
धवलागिरी आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुईसे क्षेत्र रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । संसारको सातौँ अग्लो धवलागिरी हिमाल संगै अन्नपूर्ण, निलगिरी, माछापुच्छे«, चुरेन, गुर्जा लगायतका हिमालहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।
भ्यु टावर बाट देखिने मनोरम दृष्यले आफु प्रभावित बनेको पहिलो पटक यस क्षेत्रको भ्रमणमा पुगेका काठमाण्डौका भगवान हमालले बताए । ‘‘पर्यटन विकासका हिसाबले यो क्षेत्र सम्भावनायुक्त रहेछ, पदमार्गको प्रचार प्रसार र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने देखियो’’–उनले भने ।
हिउँदयाममा गुराँसे जंगलको फुलले आकर्षित गर्ने यस क्षेत्रको जैविक विविधता र प्राकृतिक भू–वनोट पर्यटकहरुको लागि थप आकर्षण हो । यस क्षेत्रमा रहेका परम्परागत भेडाबाख्रा, गाई, भैसीका गोठ समेत पर्यटकहरुको लागि अध्ययन र चासोको बिषय बन्ने गरेको स्थानीय युवा हरि भण्डारी बताउँछन् ।
रुईसेको ऐतिहाँसिक महत्व
प्राकृतिक हिसाबले पर्यटकीय सम्भावनायुक्त रुईसे क्षेत्रको धार्मिक, ऐतिहाँसिक महत्व समेत रहेको छ । रुइसेमा तत्कालिन बाईसे चौविसे राज्यहरुको पालामा यहाँबाट शासन चलाएका थिए । यस क्षेत्रको प्राचिनकालिन ईतिहाँसलाई हेर्दा रुईसे दरबारमा रहेको तत्कालिन राजाले बनाएका दरबारको भग्नावशेष, राजाको हात्ति बाँध्ने गह्रो, पानी खाने कुवा र पधेरो, ओखल, आराम गर्ने थलोको रुपमा राजाको विसौनी, राजाको चौतारो, गोठाला र हेराला बस्ने ढुंगा जस्ता नामकरण गरिएका ठाउँहरु अझै रहेको स्थानीय अगुवा देवेन्द्रबहादुर मल्ल बताउँछन् ।
म्याग्दी जिल्लाकै पुरानो कोतमन्दिर भगवती कोत मन्दिरको उद्गत स्थल रुइसेको थापाकोट रहेको उनको भनाई छ । यस क्षेत्रलाई अहिले थामकोटको नामले समेत चिनिन्छ । १७ औँ शताब्दीको विरासतसँग जोडिएको यस कोत मन्दिर तत्कालिन राजाको बासस्थान तथा सुविधाको लागि र उनीहरुको सुरक्षालाई मध्यनजर गर्दै कोतलाई थापाकोटबाट रामकोटमा सारिएको थियो । उक्त रामकोटमा पनि आगलागी भएपछि त्यस ठाउँको नाम डढेकोट राखिएको छ भने भगवती मन्दिरलाई अहिले रहेको स्थान भोर्लाकोटमा सारिएको थियो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l