बेनीलाई सभ्य, सुन्दर र सुरक्षित शहर बनाउने योजना बनाएको छुः वडा ८ अध्यक्षका उम्मेदवार रामकृष्ण बराईली

  • २७ बैशाख २०७४, बुधबार
  • 7454 पटक पढिएको

वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा उम्मेदवारहरु व्यस्त छन् । विकास र समृद्धिको नारा सहित चुनाब प्रचार प्रसारमा व्यस्त बनेका बेनी नगरपालिका– वडा नम्बर ८ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदावार रामकृष्ण बराईलीले बेनीलाई ‘‘ मेरो वडा, मेरो अधिकारः सम्पूर्ण वडाबासी एक परिवार ’’ भन्ने नारा सहित चुनाबी अभियानमा व्यस्त हुनुहुन्छ । म्याग्दी जेसीज, म्याग्दी सुनचाँदी व्यवसायि संघको नेतृत्व सम्हाली सक्नुभएका बराईली म्याग्दी उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य, लायन्स क्लब अफ बेनी म्याग्दीका सचिब लगायत विभिन्न सामाजिक संघ संस्थामा आबद्ध हुनुहुन्छ । यसैक्रममा हामीले उहाँसंग चुनाबी अभियानको बारेमा कुराकानी गरेका छौँ । प्रस्तुत छ वडा नम्बर ८ मा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार बराईलीसंग गरिएको कुराकानीको सम्पादीत अंश


१) बेनी नगरपालिका–८ मा एमालेको तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार बन्नुभएको छ । यहाँलाई बधाई तथा बिजयीको शुभकामना

– धन्यबाद यहाँलाई

२) चुनाबी अभियानमा व्यस्त हुनुहुन्छ । कस्तो लागिरहेको छ ? वडा अध्यक्ष पदको उम्मेदवार बन्दा !

–बास्तवमा जिल्लाकै सदरमुकाम बेनी बजार भित्र रहेको वडा नम्बर ८ मा अध्यक्ष पदमा मलाई नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्न पाउँदा निकै हर्षित बनेको छु । विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गरिसकेको कारण पार्टीले जुन जिम्मेबारी मलाई दिएको छ त्यसमा म इमानदारीका साथ सफल हुन्छु भन्ने विश्वासका साथ चुनाब प्रचार प्रसारमा जुटेको छु । वास्तवमा एउटा दलित समुदायलाई नेतृत्वदायी भूमिका नदिने प्रचलन रहिरहेको सन्दर्भमा मेरो क्षमतालाई सम्मान गर्दै नेकपा एमालेले वडा अध्यक्ष जस्तो गरिमामय पदमा मलाई उम्मेदवार बनाएर जुन खालको एउटा जिम्मेवारी दिएको छ , यसलाई मैले अबसर र चुनौतीको रुपमा लिएको छु । मैले यस अगाडी म्याग्दी जेसीज, म्याग्दी सुनचाँदी व्यवसायि संघ, बेनी सुनचाँदी सप्लायर्स प्रा.लि लगायतका सामाजिक संघ संस्थामा कुशलतापूर्वक नेतृत्व गरिसकेको कारण पनि मलाई पार्टीले यो जिम्मेवारी दिएको हो । मलाई विश्वास छ बेनीका मतदाताले मलाई भारी मतले बिजयी गराउनुहुनेछ ।

३) निर्वाचनको मिती नजिकिएको छ । चुनाब प्रचार प्रसारलाई कसरी अगाडी बढाउनुभएको छ ?

मलाई पार्टीले वडा अध्यक्ष पदको उम्मेदवार बनाएसंगै म जनताको घरदैलोमा पुगेको छु । यदि भन्दै गर्दा म यस अघि जनताको घरदैलोमा नपुगेको भन्ने होईन् । यस अघि म कुनै पदमा नहुँदा पनि बेनीसंगै जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा जनताको दुख सुखमा आफ्नो तर्फबाट सक्दो सहयोगी भूमिका खेल्दै आएको व्यहोरा स्मरण गर्न चाहन्छु । म कुरामा भन्दा काममा विश्वास गर्ने व्यक्ति हुँ । चुनाब प्रसार प्रसारको क्रममा मैले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै मतदातालाई कुनै पनि प्रलोभन नदेखाईकन प्रचार प्रसारलाई अगाडी बढाउँदै जनताको मत मागिरहेको छु ।
४) के भन्छन बेनीका मतदाता ? कस्तो खालका सल्लाह सुझाब प्राप्त भएको छ !
– चुनाबी अभियानको क्रममा भोट माग्दै म हरेक मतदाताको घरघरमा पुग्ने गरेको छु । अहिलेपनि म जनताकै घरदैलोमा छु । बेनीका मतदाताहरुको चेतनाको स्तर निकैनै उच्च छ । स्थानीय तहको निर्वाचन भएको कारण पनि जनताले सक्षम, युवा, काम गर्न सक्ने, सुचना प्रविधिमा अभ्यस्त भएको र जनताको सेवामा निरन्तर खट्न सक्ने नेतृत्व खोजीरहेको मलाई आभास भइरहेको छ । र उक्त जिम्मेवारी पुरा गर्न म योग्य र सक्षम छु भन्ने मेरो विश्वास हो । बेनीका मतदाताले बेनीलाई सभ्य, सुन्दर र सुरक्षीत शहरको रुपमा विकास भएको हेर्न चाहेको मैले बुझेको छु । यसका लागि मसंग विभिन्न योजनाहरु रहेका छन् ।

५) बेनीलाई सभ्य, सुन्दर र सुरक्षित बनाउने के छन तपाईका योजनाहरु ?

–बास्तबमा बेनी दुई नदीको दोभानमा रहेको बेनी बजार हेर्दा निकै आकर्षक बजार छ । कतिपय बाहिरी जिल्लाका मानिसहरु त बेनीको अबलोकनको लागि पनि आउने गर्छन् । बेनी बजार र म्याग्दी जिल्लाकै प्रवेशद्धारको रुपमा रहेको यस वडा नम्बर ८लाई विकासमा गतिमा अगाडी बढाएर सडक, बसपार्क, ढल निकास, नदी कटान नियन्त्रण, बाढी पहिरोको रोकथाम निकै चुनौतिपूर्ण छ । तर मैले यि चुनौतीहरुलाई समाधानको लागि यस वडाको समग्र विकासका निम्ती दिर्घकालिन र अल्पकालिन योजनाहरु ल्याएको छु । जस्तै कालिपुल बर्सपार्कलाई आधुनिकीकरण गर्दै व्यवस्थित गर्ने, जिल्लाकै ऐतिहाँसिक कालिपुल बजार क्षेत्रमा रहेको नदी कटानको जोखिमलाई न्युनीकरण गर्न डल्लेपिपल देखि कालिपुल पक्कि पुलसम्म नै आरसिसी रिटेनिङ पर्खाल निर्माण गर्ने, प्रवेशद्धारसंगै बजार क्षेत्रको ढल व्यवस्थापन गर्ने, आकर्षक प्रवेशद्धार निर्माण गर्ने, सरकारी स्वामित्वमा रहेका जग्गाहरुको पहिचान गरि लगत संकलन गरि आम्दानीको स्रोत बृद्धि गर्ने, क्याम्पसचोक क्षेत्रमा देखिएको बाढी पहिरोको दिर्घकालिन समाधान सहित तत्कालका लागि रोकथाम र नियन्त्रणको योजनाहरु सञ्चालन गर्ने, बसापार्कमा आउने बाढीलाई सहज निकास र नियन्त्रण गर्ने, जिल्लाको पर्यटन विकासका लागि पर्यटन सुचन तथा सहायता केन्द्र स्थापना गर्ने, बालबालिकाको लागि बालउद्यान, युवाहरुको लागि खेलमैदान र जेष्ठ नागरिकलाई दिवाकालिन समयका लागि मनोरञ्जन तथा आरामकक्ष निर्माण गर्ने, यस वडामा रहेको बालमन्दिर आधारभुत विद्यालयको स्तरोन्नती गरिने, म्याग्दी बहुमुखी क्याम्पसको चौतर्फि विकास गर्ने, यस क्षेत्रमा रहेको सरकारी बेनी अस्पताललाई सुविधा सम्पन्न नमुना अस्पतालको रुपमा विकास गर्ने, बेनी बजार साँघुरो भएको हूँदा व्यवहारीक भवन निर्माण आचार संहिता लागु गर्ने, बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका टेलिफोन, बिजुलका तारहरु व्यवस्थित गर्ने, यातायात, पैदलयात्री र सडकपेटीलाई व्यवस्थित गर्ने, बेनी बजारमा रिङरोडको अबधारणलाई कार्यान्वयन गर्ने, व्यवसाय प्रवद्र्धनका लागि उद्योग बाणिज्य संघसंग हातेमालो गर्ने, नागरिकमा सुचना प्रविधिको पहुँच र प्रयोग बढाउने योजना कार्यान्वयन गर्ने, बेनीलाई हरियाली शहरको रुपमा विकास गर्ने लगायतका योजनाहरुलाई कार्यान्वयन गर्ने मेरो योजना छ ।

६ ) अन्तमा केही भन्नु छ की ?

सर्वप्रथम यस मिडियामा आफ्ना धारणा राख्ने अबसर दिनुभएकोमा यहाँहरुलाई धेरै धेरै धन्यबाद । अब स्थानीय निर्वाचनको मतदान गर्ने दिन आउन केही दिन मात्रै बाँकी छ । त्यसैले सबै मतदातालाई आफ्नो मताधिकारको प्रयोग गर्नको लागि पनि उत्साहजनक रुपमा निर्वाचनमा भाग लिईदिनुहुन म अनुरोध गर्छु । साथै यो स्थानीय निर्वाचन भएको कारणले यहाँहरुले योग्य, क्षमतावान, सक्षम र काम गर्न सक्ने नेतृत्वलाई कसैको प्रभाबमा नपरिकन मतदान गर्न आह्वान गर्दै म वडा नम्बर ८ संगै सिंगो नगरपालिका र म्याग्दीबासीहरुलाई जुनसुकै बेला जस्तोसुकै परिस्थितिमा पनि तपाईहरुको दुख,सुख र सेवामा समर्पित हुने व्यहोरा जानकारी गराउँछु । धन्यबाद