म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

  • २६ बैशाख २०७४, मंगलवार
  • 2339 पटक पढिएको

म्याग्दी, २६ वैशाख । आगामी आइतबार पहिलो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी म्याग्दीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन, मुख्य, निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायले मतदानको मिति नजिकिँदै गर्दा जनशक्ति व्यवस्थापन र सुरक्षा तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

दुईसय २४ जना मतदान र सहायक मतदान अधिकृतलगायतका कर्मचारीलाई तालिम दिइ नियुक्तपत्र दिएर मतदान स्थलमा खटाउने तयारी भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो । प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, एक जना सहयोगी तथा दुई जनाका दरले स्वयम्सेवक परिचालन हुने भएका छन् ।

बदर मतको दर घटाउन जिल्लाभर १०२ जना निर्वाचन तथा मतदाता शिक्षा स्वयम्सेवक परिचालन भएका छन् । म्याग्दीमा ३७ हजार ६७२ जना महिला, ३३ हजार ७६० जना पुरुष र एक जना तेस्रो लिङ्गी गरी ७१ हजार ४६३ जना मतदाता रहेका छन् । २३७ पदका लागि ५९४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।