देउसी भैलोको रकमबाट फुलवारीमा सडक ग्राभेल ( तस्विर सहित)
- १७ कार्तिक २०७६, आईतवार
- 2877 पटक पढिएको
म्याग्दी १७ कात्तिक । तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन भएको रकम बनभोज लगायतका मनोरञ्जनको क्षेत्रमा खर्चिने परिपाटीको विकास भैरहेको सन्दर्भमा म्याग्दीको मालिका गाउँपालिका–४ फुलवारीमा भने युवाहरुले रचनात्मक कार्य गरेका छन् । स्थानीय छहारी युथ क्लबले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम मार्फत संकलन भएको रकमबाट सडक ग्राभेल गरेको हो ।
देउसी भैलो मार्फत संकलन भएको रु १ लाख ३ हजार रकममध्ये रु ७० हजार लगानीमा गाउँभित्रको सडकलाई ग्राभेल गरि मर्मत गरिएको क्लबका अध्यक्ष तुलन बुढामगरले जानकारी दिए । उनका अनुसार, फुलवारीको तल्लो बजारदेखि र माथिल्लो बजारसम्मको करिब ७ सय मिटर सडक मर्मत गरिएको छ ।
सडक खाल्टाखुल्टीको कारण हिलो हुने र सवारी वारपार समेत प्रभावित हुने गरेको सन्दर्भमा क्लबले सडकमा ग्राभेल गरेपछि राहत भएको छ । सडक मर्मतमा स्थानीय ५० बढी घरधुरीले दुई दिनसम्म श्रमदान समेत गरेका थिए । देउसी भैलोको संस्कृति संरक्षण संगै संकलन भएको रकमलाई विकास निर्माणको क्षेत्रमा परिचालन गरिएको क्लबका अध्यक्ष बुढामगरले बताए ।