दृष्टिविहिन स्रोत कक्षालाई युकेमा रहेका राखुबासीबाट १ लाख ५४ हजार बढी सहयोग (तस्बिर र भिडियो सहित)

  • ५ कार्तिक २०७६, मंगलवार
  • 2249 पटक पढिएको

म्याग्दी, ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई साढे १ लाख बढी सहयोग जुटेको छ । युकेमा बसोबास गर्ने राुख पिप्ले र भगवतीका बासिन्दाहरुबाट दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुको सहज बसोबास र व्यवस्थापनको लागि रु १ लाख ५४ हजार २४३ सहयोग गरेको हो ।

उक्त सहयोग रकम राखु समाज युकेका अध्यक्ष रत्नबहादुर शाही, सदस्य टिका बहादुर शाही, विनु शाही र गिता शाहीले विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष गोविन्द रिजाललाई हस्तान्तरण गर्नुभएको थियो । दृष्टिविहिन बालबालिकाहरुले अध्ययन गर्ने विद्यालय आर्थिक समस्यामा परेको जानकारी पाएपछि बेलायतमा बसोबास गर्ने राखुबासीहरु मार्फत उक्त सहयोग गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।

उहाँले सहयोग रकमलाई दृष्टिविहिन विद्यार्थीहरुकै क्षेत्रमा परिचालन गर्न आग्रह गर्दै उनीहरुको सहज शिक्षाको लागि सबै क्षेत्रबाट रचनात्मक सहयोग हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राखु समाज बेल्जियमका सल्लाहकार संयोजक तथा मोना बेल्जियमका पूर्व अध्यक्ष घनश्याम शाहीले दृष्टिविहिन स्रोत कक्षाको व्यवस्थापनमा स्वदेश तथा विदेशमा रहेका सरोकारवालाहरुको हातेमालो आबश्यक रहेकोमा जोड दिँदै सहयोगदाताबाट प्राप्त हुने सहयोग रकमको उचित परिचालन हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विद्यालयले सञ्चालन गरेको खेलकुद प्रतियोगितामा सहयोग स्वरुप राखु समाज बेल्जियमका सल्लाहकार संयोजक घनश्याम शाही, राखु समाज युकेका अध्यक्ष रत्नबहादुर शाही र सदस्य टिकाबहादुर शाहीले रु १० हजार सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा रघुगंगा गाउँपालिका–३ का वडा अध्यक्ष जिवनकुमार मल्लले विकास निर्माण र सामाजिक क्षेत्रमा प्रवासी राखुबासीको सहकार्य प्रसंसनीय रहेको बताउँदै आगामी दिनमा समेत रचनात्मक साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष रिजालले सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यबहाक अध्यक्ष रिजालको अध्यक्षता, विद्यालयका भूतपूर्व प्रअ हरि सुवेदीको स्वागत, निलकण्ठ सुवेदीको शुभकामना मन्तव्य र शिक्षक दुर्गादक्त रिजाल(दामोदर)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  सो अवसरमा विद्यालयले सहयोगदाता राखु समाज युकेलाई प्रसंसा पत्रद्धारा सम्मान गरेको थियो ।