विप्लव नेता क्षेत्री र शाक्यलाई अदातलबाट छुटे लगत्तै प्रहरी धरपकड

  • ३० आश्विन २०७६, बिहीबार
  • 2295 पटक पढिएको

विजय राना
बागलुङ ३० असोज । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन धौलागिरी ब्यूरो सदस्य तथा हालका म्याग्दी इञ्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्यमाथि अदालतको आदेशको अबज्ञा हुने गरि प्रहरी धरपकड भएको छ । जिल्ला अदालत बागलुङमा १०/१० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटे लगत्तै विहिवार विप्लव समुहका नेता कमान किरण नकाल क्षेत्री (विकिरण) र बाबुलाल शाक्यलाई प्रहरीले पक्राऊ गरेको हो । अदालतमा धरौटी बुझाएर तारेखमा छुटे लगत्तै प्रहरीले उनीहरुलाई अदालतको गेट परिसरबाटै नियन्त्रणमा लिएको थियो । क्षेत्री र शाक्यले जनही १०/१० हजार रुपैयाँ धरौटी बुझाए पछि अदालतले कार्तिक १७ गते तारेखमा अदालतमा उपस्थिति हुन आदेश दिएको थियो ।

तारेखमा उपस्थिति हुने आदेश पाए पछि बाहिरिदै गर्दा अदालतको गेटबाटनै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर हत्कडी लगाएकोे थियो । उनीहरु गत साउन–३ गते म्याग्दीको बेनी नगरपालिका वडा न. ३ भकिम्लीस्थित नयाँ पुलबाट पक्राऊ परेका थिए । क्षेत्री र शाक्यलाई राज्य विरुद्धको कसुरमा मुद्धा दर्ता गराएको थियो । जिल्ला अदालत म्याग्दीले जनही ३५ हजार रुपैयाँ धरौटी राख्न आदेश दिए पनि क्षेत्री र शाक्यले उच्च अदालत पोखरा बागलुङ इजलासमा त्यो आदेश बदर गरि पाउँ भनि उजुरी गरेपछि इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।

आदेशसंगै उनीहरुलाई जिल्ला अदालत म्याग्दीले कार्तिक ६ गते अदालतमा उपस्थित हुन भन्दै तारेखमा छोड्न आदेश दिएको थियो । त्यससंगै उनीहरु विरुद्ध जिल्ला अदालत बागलुङमा मुद्धा दर्ता गरिएको थियो । क्षेत्री र शाक्यलाई जिल्ला प्रहरी कार्यालय पर्वतलाई बुझाएको बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले बताए । क्षेत्री र शाक्य विरुद्ध स्याङ्जामा मुद्धा रहेको बताउँदै उनीहरुलाई स्याङ्जामा पुर्याईने भट्टराईले बताए ।

तर राज्यको यस्तो व्यवहारले कानुनको उपहास गरेको अधिवक्ता राम शर्माको भनाई छ । अपराध संहितामा कुनै पनि व्यक्तिलाई पक्राऊ गर्नु अघि अदालतको अनुमति लिनु पर्नेमा अदालतले छोडेको मान्छेलाई अदालत गेटबाटे पक्डिनु कानुनी साशनको उपहास भएको उनको भनाई छ । शर्माले थुनामा रहेको व्यक्तिलाई फरक–फरक ठाउँमा अपराध गरिस भनि पक्रिनु भनेको फौजदारी न्याय प्रणालीको अपमान भएको बताए । परिवारलाई पनि भेट्न नदिई प्रहरीले अदालत परिसरबाटै पक्राऊ गरेको भन्दै शाक्यकी श्रीमति विद्यालक्ष्मी शाक्यले दुःखेसो पोखिन ।

क्षेत्री र शाक्यलाई पक्राऊ गर्नु अघि पक्राऊ पुर्जी दिनु पर्ने कानुनी व्यवस्था भए पनि उनीहरुलाई नदिएकोमा आपत्ति जनाईन् । अपहरणकारीको शैलिमा प्रहरीले नियन्त्रणमा लिएको भन्दै विद्या लक्ष्मीले प्रहरीको त्यस्तो क्रियाकलापले कानुनी साशन नभई प्रहरी साशन रहेको आभास दिएको बताईन् । इपरीन्युज डटकमको सहयोगमा