सि भ्रमणको तयारीः कोरना नाका सञ्चालनको बिषय प्राथमिकतामा
- २४ आश्विन २०७६, शुक्रबार
- 2721 पटक पढिएको
सन्तोष गौतम
म्याग्दी, २४ असोज । चिनका राष्ट्रपति सि चिनफिनको आसन्न नेपाल भ्रमणका क्रममा हुने उच्च स्तरीय वार्तामा नेपाल सरकारले मुस्ताङ स्थित कोरला नाका सञ्चालन गर्ने विषयलाई कार्यसूचिमा राखेको छ । पूर्वाधार कनेक्टिभिटिका विषयमा मुख्य छलफल हुने वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नति सहित सञ्चालन गर्ने कार्यसूचि समावेश भएको खबरले चिनको सिमानामा रहेको मुस्ताङ र आसपासका जिल्लाबासी उत्साहीत भएका छन् ।
मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले चिनीया राष्ट्रपतिको आसन्न भ्रमण दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मात्र नभएर ब्यापारिक, आर्थिक र पूर्वाधार विकासका हिसाबले उपलब्धिमुलक बन्ने विश्वास व्यक्त गर्नुभयो । कोरला नाकामा चिनले गरेको तयारी र नेपाल सरकारले वार्ताका लागि तयार पारेको कार्यसूचिमा कोरला नाकाले प्राथमिकता पाएकोमा गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले खुसी ब्यक्त गर्नुभयो ।
‘मित्रराष्ट्र चिनका राष्ट्रप्रमुखको राजकीय भ्रमणले सिमावर्ती क्षेत्रका बासिन्दालाई उत्साहीत बनाएको छ,’ सांसद बिष्टले भन्नुभयो ‘दुईदेशबिचको वार्ताको क्रममा कोरला नाका सञ्चालन गर्ने विषय समावेश हुनु अझ खुसीको कुरा हो ।’ चिनको स्वसाशित क्षेत्र तिब्बतको ढोङ्वासेनमा पर्ने कोरला नाका क्षेत्रमा चिनले भन्सार, सुरक्षा, सडक पहुँच लगायतको तयारी गरेको छ । नेपाल र चिनबीच ब्यापारिक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका सञ्चालनका लागि सरकारले २०७३ देखि बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत पहुँचमार्ग निर्माण गरिरहेको छ ।
कोरला नाका सञ्चालन भएमा ब्यापारमा भारतसंगको परनिर्भरता हट्ने, धौलागिरि क्षेत्र ब्यापारीक केन्द्रको रुपमा विकास हुने मात्र नभई कालीगण्डकी करिडोरमा जलविद्युत र पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । उहाँले चिनबाट हुन लागेको उच्च स्तरीय भ्रमणको क्रममा समेत कोरला नाका सञ्चालनको बिषयले प्राथमिकता पाउने कुराले यस क्षेत्रका सरोकारवालामा उत्साह थपिएको बताउँदै नेपाल सरकारले नाका सञ्चालनको प्रमुख आधार मानिएको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नती गर्ने योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
वि.स २०३२ सालमा सुरु भएको कोरला नाकामा खम्पा बिद्रोहपछि समस्या सृजना भएको थियो । एक चिन नीति बिरोधी गतिबिधीलाई रोक्न पछिल्लो समय चिनीया पक्षले आवत जावतमा कडाई गर्दै आएको छ । हाल तिब्बतको ढोङवासेन र उपल्लो मुस्ताङका ब्यापारीहरुले अन्तरदेशीय ब्यापार मेला आयोजना गरेको अवस्थामा वर्षमा २ पटक मात्रै कोरला नाका खुल्ला हुन्छ ।
सन २००३ मा प्रस्ताव गरिएको कोरला नाका खोल्ने बिषयमा २०६८ माघमा तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र चिनका प्रधानमन्त्री वेन जिया वाओबीच सम्झौता भएपनि प्रक्रिया अघि बढ्न सकेको थिएन् । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत पहुँचमार्गको स्तरवृद्धीलाई तिब्रतासँगै गत वर्ष लोमान्थाङमा नेपाली सेना र म्याग्दीको गलेश्वरमा शसस्त्र प्रहरीको क्याम्प स्थापना गरेको छ । कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फ पर्ने लोमान्थाङमा सेनाको क्याम्प स्थापना गरिएको छ ।
समुन्द्रि सतहदेखि चार हजार मिटरको उचाइमा सेनाको क्याम्प राख्न एक हजार २१७ रोपनी जग्गाको ब्यवस्थापन गरि भवन निर्माण गरिएको छ । सेनाको उपस्थितिले युरोनीयम खानीको सुरक्षासँगै कोरला नाका सञ्चालनका लागि सुरक्षा प्रत्याभुतीको सन्देश प्रवाह भएको मुस्ताङका सांसद तुलाचनले बताउनुभयो । कोरला नाका नजिकै पर्ने नेचुङ भन्सार कार्यालय २१ वर्षपछि २०७३ मा पुनःस्थापना भएको थियो । प्रशासनिक, सुरक्षा, भन्सार, बन्दरगाहको लागि जग्गा ब्यवस्थापनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रुपमा यातायातको पहुँच पु¥याउन ७ वटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण भइरहेको छ ।
छोसेर देखि चिनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिल्लर सम्मको १६ किलोमिटर सडक स्तरोन्नति भइसकेको आयोजना प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो । ‘जोमसोम–कोरला खण्डका सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति अन्तिम चरणमा छ,’ आयोजना प्रमुख अधिकारीले भन्नुभयो ‘ट्याक मात्र खोलीएको अवस्थामा रहेको सडकलाई ११ मिटर फराकिलो, नाली, ग्यावियन पर्खाल, मेसीनरी पर्खाल निर्माण र ग्राभेल गर्न लागिएको छ ।’
म्याग्दीको बेनी देखि मुस्ताङको जोमसोम सम्मको ७६ किलोमिटर दुरीको सडक दुई लेनको कालोपत्रे गर्न सञ्चालित आयोजनाको हालसम्म पचास प्रतिशत भौतिक प्रगति भएको छ । नवलपरासीको बर्दघाटदेखि मुस्ताङको कोरला जोड्ने ४०६ किलोमिटर दुरीको कालीगण्डकी कोरीडोर भारत र चिन जोड्ने नेपालकै छोटो सडक हो । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको कालीगण्डकी कोरीडोर अन्तरगत बागलुङ, गुल्मी, पर्वत खण्डमा सडकको ट्याक खुलेको छ ।