बेनी–जोमसोम सडकको ढिलासुस्तीमा संसदीय समितिको चासो

  • ८ आश्विन २०७६, बुधबार
  • 1919 पटक पढिएको

 

म्याग्दी ८ असोज । ब्यवस्थापिका संसद अन्तरगतको विकास समितिले बेनी–जोमसोम सडक आयोजनालाई तिब्रता दिन निर्देशन दिएको छ । एक दशक अघि ट्याक खुलेको सडक स्तरोन्तिमा भएको ढिलाइका विषयमा स्थलगत अनुगमनमा आएको संसदीय टोलीले कामलाई तिब्रता दिन निर्देश गरेको हो ।समितिका सभापति कल्याणी खड्काले ब्यापारिक, पर्यटन, कृषि, धार्मिक हिसाबले महत्वपूर्ण सडक निर्माणमा भएको ढिलासुस्ति हटाएर तत्कालै कामलाई गति दिन निर्देशन दिनुभयो ।


जिल्ला समन्वय समितिले बुधबार बेनीमा आयोजना गरेको छलफलफलमा सभापति खड्काले भ्रमण वर्षको तयारी भइरहदाँ पर्यटकीय जिल्ला जोड्ने सडकको दुरावस्था हटाउन निर्देशन दिनुभयो । टोलीले बेनी देखि कोरला नाका सम्मको ११० किलोमिटर दुरीको सडक स्तरोन्नतिको बारेमा भएको प्रगति र ढिलासुस्तिका कारण पहिचानका लागि बुधबारदेखिनै स्थलगत निरिक्षण सुरु गरेको छ ।

ठेकेदारहरुको लापरबाहीका कारण बेनी–जोमसोम सडकमा ढिलासुस्ति भएको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बताउनुभयो । मालढुङ्गा–बेनी खण्डको नक्साङ्कन कालीगण्डकीको पश्चिम किनारबाट हुनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले ठेकेदार कम्पनीले विभिन्न बैठक र छलफलमा जनाएको प्रतिवद्धता कार्यान्वयन गर्न नसकेको बताउनुभयो । नेकपाका अध्यक्ष गोविन्द पौडेल र नेपाली काँग्रेसका उपसभापति माधवप्रसाद रेग्मीले विभिन्न बाहनाबाजी गरेर सडकलाई अलपत्र बनाउन ठेकेदारले खेलाची गरेका बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनी–जोमसोम सडक आयोजनाका ठेकेदारले मजदुरलाई ज्याला र आपुर्तिकर्तालाई भुक्तानी नदिएको विषयमा दैनिक गुनासो आउने गरेको बताउनुभयो । ७६ किलोमिटर दुरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिन तीन महिना बाँकी रहँदा पचास प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । कालोपत्रे गर्ने लक्ष्य सहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तिर्थयात्रीलाई सास्ति भएको छ ।

साँघुरो, जिर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । २०७४ असारमा चार वटा प्याकेज (भाग) मा बिभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले दुई अर्ब पचास करोड रुपैयाँमा ठेक्का लिएका थिए । २०७६ मंसिर सम्म काम सक्ने ठेक्का लिएका निर्माण ब्यवसायीले हालसम्म करिब पचास प्रतिशत मात्र काम गरेका बेनी–जोमसोम–कोरला आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो ।

प्रतिवद्धता अनुसार उपकरण र जनशक्ति परिचालन गर्न नसकेपछि गलेश्वर नारच्याङ पुल खण्डको शर्मा–गजुरमुखी कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।