मराङमा विद्युतीकरणको अन्तिम तयारी

  • ७ आश्विन २०७६, मंगलवार
  • 2355 पटक पढिएको

 

बेनी, ७ असोज । धवलागिरी गाउँपालिका–६ मराङमा विद्युत प्राधिकरणको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मराङमा विद्युतीकरणका लागि परिचालन गरेको ठेकेदार कम्पनी न्यु ढुङ्गाना निर्माण सेवाले मंगलबार परिक्षण सफल भएको जनाएको छ ।

ट्रान्सफर्मर चार्ज गरेर परिक्षण प्रशारण सफल भएको कम्पनीका सञ्चालक दिनेश ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ताले वायरीङ गरि मिटरबक्स जडान गरेर बिजुली बाल्न सक्नेछन् । पहिलो चरणमा १०० घरमा बिजुली बाल्ने तयारी भएको छ । यसैगरी धवलागिरी गाउँपालिका–७ ताकममा पनि केन्द्रीय प्रशारण लाइनको विद्युतको परिक्षण प्रशारण सुरु भएको छ ।

साविकको ४ र ५ नम्बर वडाका करिब दुई सय घरमा परिक्षणका लागि बिजुली बालिएको र अन्य घरहरुमा पनि विस्तारको तयारी भएको वडा अध्यक्ष कलानिधी सुवेदीले बताउनुभयो ।विद्युत प्राधिकरण र धवलागिरी गाउँपालिकाको लगानीमा ताकममा विद्युतीकरण हुन लागेको हो । यसैगरी मुस्ताङको लोघेयकर दामोदर कुण्ड गाउँपालिकाको चराङ, मराङ र लोमान्थाङको सेनाको ब्यारेकमा पनि विद्युतीकरणका लागि ट्रान्सफर्मर चार्ज गरिएको ढुङ्गानाले जानकारी दिनुभयो ।