लुलाङमा चार वर्षपछि बिजुली बल्यो

  • ७ आश्विन २०७६, मंगलवार
  • 2151 पटक पढिएको

 

बेनी ७ असोज । धवलागिरी गाउँपालिका–२ लुलाङमा चार वर्षपछि बिजुली बलेको छ । चार वर्षदेखि बन्द अवस्थामा रहेको दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनःनिर्माणपछि लुलाङमा बिजुली बलेको हो । वि.स २०७२ साउनमा जुगेपानीको पहिरोले नहर बगाएपछि र विद्युतगृत पुरपछि २५ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र काठमाडौ र गाउँपालिकाको सहयोगमा पुनःनिर्माण भएको हो । परियोजनाको क्षमता बढाएर ४२ मेगावाट बनाइएको छ ।

२०७५ चैत महिनादेखि सुरु भएको पुननिर्माण सकिएपछि भदौ अन्तिम हप्तादेखि बिजुली बलेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । ‘बाँध, नहर, विद्युतगृह नयाँ ठाउँमा बनाइएको छ,’ उपाध्यक्ष छन्त्यालले भन्नुभयो ‘पुराना काठका जोखिमयुक्त पोल फेरिएको छ । मुख्य र वितरण लाइनको तार पुरानै हो ।’ परियोजना पुननिर्माणका लागि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले गत आर्थिक वर्षमा ८६ लाख, गाउँपालिकाले पचास लाख रुपैयाँ बिनियोजन गरेका थिए । कुल लागतको दश प्रतिशत उपभोक्ताको श्रमदान छ ।

उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुर्जाले लघुजलविद्युत परियोजना पुनःनिर्माण भएपछि लुलाङ, खोरीया, मरेनी र लमसुङका ३४० घरधुरी लाभान्वित भएका जानकारी दिनुभयो । नहर खन्न, निर्माण सामग्री ढुवानी र भवन बनाउन श्रमदान गरेका हुन् । लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो । ‘ठूलो संघर्ष, श्रम र अथक प्रयासपछि बिजुली बाल्न सफल भयौ,’ अध्यक्ष पुर्जाले भन्नुभयो ‘परियोजना सञ्चालन भएपछि गाउँ झिलीमिली भएको छ ।’ गाउँलेमा खुसीयाली फर्कीएको छ ।

खबाङको दोभानमा बाँध बनाइएको छ । ७२५ मिटर लामो पाइपलाइन मार्फत ल्याइएको पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । ८६ मिटर फलामे र ६६३ मिटर प्लाष्टिक पाइप जडान भएको छ । मरेनीको फेदी र दरखोलाको किनारमा विद्युतगृ बनाइएको उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताउनुभयो । ‘भौगोलिक विकटता र यातायातको असुबिधाका कारण हेलिकप्टरबाट टर्वाइन ढुवानी गरियो’ सचिव खड्काथोकीले भन्नुभयो ।

लुलाङ घर भई हाल काठमाडौमा ब्यवसाय गर्दै आएका कलीराम पुर्जाले हेलिकप्टरको व्यवस्था गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा समेतको उपस्थितिमा गत जेठमा टर्वाइन हेलीकप्टरबाट ढुवानी गरिएको हो । तत्कालै केन्द्रीय लाइनको विद्युत पु¥याउन सम्भवन नदेखिएकाले लघुजलविद्युत बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

‘यो गाउँपालिकाको गौरवको आयोजना हो,’ उहाँले भन्नुभयो ‘भविष्यमा केन्द्रीय प्रशारण लाइनका लागि समेत प्रयोग गर्न मिल्ने विद्युतका पोल राखेका छौ ।’ उज्यालोका लागि सोलार र टुकी बाल्नुपर्ने अवस्था हटेको स्थानीयबासी टेकलाल रसाईलीले बताउनुभयो । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारित साना उद्योग सञ्चालन गर्न सहज भएको छ । लुलाङमा नेपाली कागज, आरन, पाउरोटी जस्ता उद्योग छन् । मोवाईल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न सहज भएको वडा अध्यक्ष गमप्रसाद बिकले बताउनुभयो । बिजुली बलेपछि गाउँलेलाई राहत मिलेको उहाँले बताउनुभयो ।