फर्से धाइरीङ माविको भवन पुनःनिर्माण

  • ७ आश्विन २०७६, मंगलवार
  • 2106 पटक पढिएको

 

बेनी, ७ असोज । जलजला गाउँपालिका–७ मा रहेको फर्से धाइरीङ माविको कक्षा कोठा भवन पुनःनिर्माण भएको छ । २०७२ को भूकम्पले जिर्ण बनेको पुरानो भवन भत्काएर चार कोठे दुई तले भूकम्प प्रतिरोधी क्षमताको भवन पुननिर्माण भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा), गाउँपालिका, कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना र विद्यालयको आन्तरिक स्रोत गरि साठी लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

भवन निर्माणका लागि प्राधिकरणले ३१ लाख पचास हजार, जलजला गाउँपालिकाको सात लाख ५५ हजार रुपैयाँ अनुदान तथा कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाले चार लाख रुपैयाँ मूल्य बराबरको निर्माण सामग्री सहयोग गरेको थियो । तीन कोठे ट्रस भवनका लागि अनुदान प्राप्त भएपनि अन्य सहयोग र आन्तरिक स्रोत जुटाएर चार कोठे पक्कि भवन बनाएको प्रअ मुकुन्दप्रसाद आचार्यले जानकारी दिनुभयो ।वि.स. २०५१मा निर्माण भएका पुराना ५ वटा भवन भत्काएर सोही ठाउँमा नयाँ बनाइएको हो । भूकम्पले पुराना भवन जिर्ण बनाएको थियो । जोखिम मोलेर पठनपाठन सञ्चालन गरिदै आएको थियो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा तीन सय जना विद्यार्थी छन् ।

प्राबिमा ७, निमावीमा दुई र एक जना मावि दरबन्दी तथा पाँच जना निजी स्रोतका शिक्षक छन् । नवनिर्मीत भवनको प्रतिनिधिसभा सदस्य पदम गिरीले सोमबार शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो ।सांसद गिरीले स्थानीय तहको कार्यक्षेत्रमा पर्ने शिक्षाका कार्यक्रमका लागि संघीय सरकारले गाउँपालिकामा बजेट पठाउने भएकाले त्यसको परिचालन गरेर शैक्षिक सुधारमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले मिलनचोक–धाइरीङ लगायत पर्वतका अधिकांश ग्रामिण सडक कालोपत्रे गर्ने योजना अघि बढेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि. पौडेल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे, प्रहरी नायव उपरिक्षक श्यामु अर्याल, पुन निर्माण प्राधिकरणको शिक्षा इकाइका प्रमुख युक्तप्रसाद शर्मा, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उद्धिमराज पौडेल, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र वडा अध्यक्ष टुङ्गनाथ शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।यसैगरी नेकपाका गाउँपालिका अध्यक्ष दिपक आचार्य, नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रुद्रलाल उपाध्याय, कृष्णभवन धर्म माविका पअ इन्द्रप्रसाद आचार्य, शिक्षक संगठनका नारायण मल्ल, बालभद्र स्मृति अक्षयकोषका संरक्षक जगन्नाथ आचार्यले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षता, सहायक प्रअ लक्ष्मीप्रसाद आचार्यको सञ्चालन, शिक्षक आकृति सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा प्रअ मुकुन्दप्रसाद आचार्यले आर्थिक, भौतिक, शैक्षिक र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यार्थी शौभाग्य आचार्यले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।सो अवसरमा विद्यालयमा स्थापित तीन वटा अक्षयकोषबाट पुरस्कार वितरण गरिएको छ । जगन्नाथ आचार्य संरक्षक रहनुभएको बालभद्र स्मृति अक्षयकोषबाट विद्यालयको पुस्तकालयमा पुस्तक खरिदका लागि पन्ध्र हजार रुपैयाँ सहयोग गरिएको छ ।

 

भोजराज आचार्यले स्थापना गर्नुभएको चक्रपाणी आचार्य स्मृति अक्षयकोषबाट २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा सबैभन्दा बढी जिपिए ल्याउने अज्जती पौडेल र विशाल पौडेललाई दुई÷दुई हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ । यसैगरी जमुना आचार्यले स्थापना गर्नुभएको सरस्वति स्मृति अक्षयकोषबाट गरिब तथा जेहेन्दार छात्रा रमा आचार्य र पार्वति जिसीलाई दुई हजार एक सय रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको छ ।