गुडीरहेको जिपमा खसेको ढुङ्गाले लागेर तीन यात्रु घाइते

  • ५ आश्विन २०७६, आईतवार
  • 1955 पटक पढिएको

 

बेनी, ५ असोज । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा आइतबार गुडिरहेको जिपमा भिरबाट खसेको ढुङ्गाले चोट लागेर तीन जना घाइते भएका छन् ।जोमसोम देखि बेनी आउँदै गरेको ग १ ज ७०६२ नम्बरको जिपमा खसेको ढुंगाले चोट लागेर रुपन्देहीको देवदह नगरपालिका–५ का ७१ वर्षीय यामबहादुर वि.क, उनकी श्रीमति ६३ वर्षीया गंगी बिक र बागलुंग नगरपािलका–३ का मनबहादुर थापा घाइते भएका छन् ।

 

घुमाउने ताल नजिकैको हिलो जमेको सडकमा गाडी पार गराउने क्रममा भिरबाट जिपको माथिल्लो भागमा एक्कासी ढुंगा खसेको चालक शुशिल परियारले बताए । बेनी अस्पतालमा उपचार गराइरहेका घाइतेहरु खतरामुक्त रहेका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताए ।

यस्तैगरी मालिका गाउँपालिका–५ मा पहिरोले ताकमदेखि दरवाङ जादै गरेको लु २ च ७२०२ नम्बरको जिप बगाएको छ । गुडिरहेको अवस्थामा शनिबार साँझ एक्कासी आएको पहिरोसँगै जिप म्याग्दी नदीको किनारमा खसेको जिपका धनी महेन्द्र आचार्यले बताए । चालक र यात्रुहरुले भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।