वावियाचौर– दरबाङ सडक आयोजना स्तरोन्नती सुरु

  • १ आश्विन २०७६, बुधबार
  • 3642 पटक पढिएको

 

म्याग्दी, १ असोज । मंगला गाउँपालिकाको केन्द्र बाबियाँचौर देखि मालिका गाउँपालिका केन्द्र दरबाङसम्मको सडक स्तरोन्नति र कालोपत्रे गर्न आयोजना सुरु भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले आयोजना सञ्चालन गरेको हो ।

प्रदेशको क्षेत्र (ख) बाट निर्वाचित सामाजिक विकास मन्त्री नरदेवी पुनको सिफासिरमा बाबियाचौरको लाम्पाटा देखि दरवाङ सम्मको सडक कालोपत्रेका लागि आयोजना सञ्चालन भएको छ ।  २०७६ जेठ ३१ गते बिरुवा–क्याराभन जे.भी काठमाडौले १६ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रेका लागि २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । यो प्याकेजको ठेकेदार कम्पनीले बलौटे र रातोढुङ्गा क्षेत्रमा पहिलो चरणमा सडक विस्तार सुरु गरेको छ । पूर्वाधार विकास कार्यालय मार्फतनै हाल बेनी देखि बाबियाचौर सम्मको सडक कालोपत्रेका लागि स्तरोन्नतिको काम भैरहेको छ ।

बेनी–दरवाङ सडक म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकामसंग जोड्ने सडक हो । हाल कच्चि अवस्थामा रहेको यो सडक ११ मिटर फराकिलो बनाउने र सात मिटरमा कालोपत्रे हुने कार्यालयका इञ्जिनियर सन्तोष अर्यालले जानकारी गराए ।