गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना सुरु
- १ आश्विन २०७६, बुधबार
- 4737 पटक पढिएको
म्याग्दी, १ असोज । जिल्लाको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती हुदै बेग जोड्ने सडक स्तरोन्नति र कालोपत्रे गर्न आयोजना सुरु भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले आयोजना सञ्चालन गरेको हो ।
आठ किलोमिटर दुरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक स्तरोन्नतिका लागि एपेक्स–खड्का कृष्ण जे.भी काठमाडौले भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।२०७६ जेठ २७ गते सम्झौता भएको आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ओमराज ढुङ्गानाले जानकारी दिए । निर्माण कम्पनीले पहिलो चरणमा सडक फराकीलो बनाउने, घुम्ती तथा मोड र ग्रेड सुधारको काम सुरु गरेको छ ।
हाल कच्चि, उकालो, ग्रेड र मोड नमिलेको यस सडक आयोजना मार्फत ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गरिने भएको ढुङ्गानाले बताए । आयोजना मार्फत सडक फराकिलो बनाउने, ग्यावियन जाली, ढुङ्गाको पर्खाल लगाउने, नाली बनाउने, ह्युम पाइप, कज्वे र बायो इञ्जिनियरीङ गरिने भएको छ ।
गण्डकी प्रदेशका सांसद बिनोद केसीको सिफारिसमा भौतिक पूर्वाधार विकास मन्त्रालयले यो सडक आयोजना सञ्चालन गरेको हो । दशकअघि ट्याक खुलेको यो सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत जावतका लागि स्थानीयबासीलाई सास्ती भएको छ ।