भगवतीमा सार्वजनिक सुनुवाईः हरेक योजनाको सुचना वोर्ड अनिबार्य गर्न माग (फोटो फिचर)
- २१ भाद्र २०७६, शनिबार
- कमल खत्री
- 1946 पटक पढिएको
कमल खत्री
म्याग्दी २१ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा आर्थिक बर्ष २०७५÷७६ को बार्षिक समिक्षा, चालु आर्थिक बर्षको योजना सार्वजनिक संगै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा शनिवार भएको कार्यक्रममा स्थानीयबासीले हरेक विकास निर्माण योजनाको पारदर्शीताको लागि निर्माण स्थलमा अनिबार्य रुपमा सूचना बोर्ड राख्नुपर्ने, विकास निर्माण योजनामा परिचालन हुने मजदुर र ढुवानीको दररेट बढाउनुपर्ने, युवाहरुलाई स्वदेशमै रोजगार बन्ने योजनालाई प्राथमिकता दिनुपर्ने, सार्वजनिक यातयातको भाडादर समायोजन गर्नुपर्ने लगायतका माग गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष रिमबहादुर कटुवालले गत आर्थिक बर्षमा गाउँपालिका, प्रदेश र संघिय सरकार मार्फत वडाभित्र सम्पन्न गरिएका विकास निर्माण योजनाहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले यस बर्ष वडाभित्र शिक्षा, खानेपानी, पर्यटन पूर्वाधार लगायतको क्षेत्रमा प्राथमिकता दिएर विकास निर्माण योजनाहरु कार्यान्वयनमा जुटेको बताउँदै युवाहरुलाई स्वरोजगार बनाउनको लागि शिपमुलक तालिमहरुको प्रवन्ध मिलाईएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले पर्यटन, जलविद्यूत, कृषि क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताउँदै शिप र दक्षता संगै प्रविधिको प्रयोग गरि उद्यमशिल क्षेत्रमा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो । गण्डकी प्रदेश सरकार मार्फत भगवतीमा खानेपानी विस्तार, सडक स्तरोन्नती, गलेश्वर–पिप्ले–भगवती सडक कालोपत्रे योजना लगायतको क्षेत्रमा बजेट विनियोजन गरेको बताउँदै योजनाहरुलाई दिगो र प्रभाबकारी बनाउनतर्फ रचनात्मक भुमिका खेल्न स्थानीय सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले गाउँमा भित्रने हरेक विकास निर्माण योजनालाई प्रभाबकारी कार्यान्वयनको लागि स्थानीय सरोकारवालाले सकरात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । राखु क्षेत्रमा रहेको गुठी समस्या समाधानको लागि लामो संघर्ष गरेर सरकारले गुठी विद्येययक ल्याएको भएपनि काठमाण्डौ क्षेत्रमा भएको आन्दोलनको कारण विद्येययक फिर्ता हुन पुगेको बताउँदै देशभरका अन्य क्षेत्रका गुठी र राखु क्षेत्रको गुठीको प्रकृति फरक रहेकाले यस क्षेत्रको समस्याबारे प्रदेश र संघिय संसदका साँसद र मन्त्रीहरु मार्फत सम्बन्धित निकायको ध्यानकर्षण गराउने काम भैरहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले रघुगंगाले युवाहरुलाई स्वदेशमै आत्मनिर्भर गराउनको लागि शिप र दक्षताको विकास गराउने योजनाहरु सञ्चालन गर्न लागेको बताउँदै समायोजनको कारण न्युन कर्मचारीबाट सेवा प्रवाह गर्दा प्रभाबकारी बनाउन कठिनाई आईरहेको बताउनुभयो । उहाँले गाउँपालिकाले सार्वजनिक यातयातको भाडादर निर्धारण गरेको बताउँदै कार्यान्वयन भए नभएको सम्बन्धमा अनुगमन गर्ने संयन्त्र निर्माण गर्ने तयारी गरिएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै भगवती टोल सुधार समितिका संयोजक चेतनाथ सुवेदीले गाउँपालिकाले सार्वजनिक यातयातको भाडादर समायोजन संगै कार्यान्वयनमा समेत पहल गर्नुपर्ने बताउँदै वडा र गाउँपालिकाका जनप्रतिनिधिको ध्यानकर्षण गराउनुभएको थियो ।
कार्यक्रममा अघिल्लो आर्थिक बर्षमा भगवतीमा सञ्चालित विकास निर्माण योजनाका उपभोत्ता समितिबाट आ–आफ्नो आयव्यय र कार्य विवरण पेश गरेका थिए । वडा अध्यक्ष कटुवालको अध्यक्षता, सचिब विस्न बहादुर भण्डारीको स्वागत मन्तव्य र वडा कार्यालयका मायाँ पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा वडा कार्यालयको सेवा प्रवाहमा महत्वपूर्ण योगदान दिएको भन्दै कर्मचारी मायाँ पौडेललाई नगद रु ५ हजार सहित प्रसंसा पत्रद्धारा सम्मान गरिएको थियो ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l