पुनःनिर्माण हुँदै गरेको ताकमकोत यस्तो देखियो (फोटो फिचर)

  • २० भाद्र २०७६, शुक्रबार
  • 6382 पटक पढिएको

गोपाल आचार्य
ताकम, २० भदौ । धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक ताकमकोत जगन्नाथ अन्नपूर्ण मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मुल मन्दिर निर्माण सकिएपछि बिहीबार धार्मिक बिधी अनुसार जगन्नाथको मुर्ति प्राण प्रतिष्ठा गरिएको छ । पुननिर्माणका लागि मन्दिरका मुर्ति र कोतघरका हतियार नजिकैको सत्तलमा राखिएको थियो ।

बाजागाजा र क्षमापुजा गरेर धार्मिक बिधि अनुसार सत्तलबाट मन्दिरमा मुर्ति सारिएको हो । धारापानी, ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिमका बासिन्दा तथा अगुवाहरुको उपस्थितिमा मुर्ति सारिएको हो । मुर्ति सारिएपछि मन्दिरको मुख्य प्रवेशद्धार तर्फ जाने बाटोमा पर्ने सत्तल भत्काउन लागिएको निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो । सत्तल तर्फबाट मन्दिर छिर्ने सिढी बनाउन लागिएको हो ।

‘मुख्य मन्दिर, कोतघर, पुजा स्थल र सत्तल निर्माण सकिएको छ,’ थापाले भन्नुभयो ‘पदमार्ग, घेराबार बाँकी छ । दसै सम्म पुननिर्माणको काम सक्ने लक्ष्य छ ।’ दुई तले सत्तलको रंगरोगन र पलास्टर गर्न बाँकी छ । सार्वजनिक शौचालय पनि बनाइएको छ । पुननिर्माणमा हालसम्म करिब सत्तरी लाख खर्च भएको र सबै पुरा गर्दा एक करोड खर्च हुने अनुमान गरिएको कोषाध्यक्ष जगतबहादुर थापाले बताउनुभयो । मन्दिर पुननिर्माणका लागि स्वदेश तथा विदेशमा चन्दा संकलन अभियान सञ्चालन गरिएको छ ।

हालसम्म सरकारी निकायबाट सहयोग प्राप्त भएको छैन् । समुदायकै पहलमा पुननिर्माण हुन लागेको हो । पुरातत्व विभागबाट अनुमति लिएर उसले स्विकृत गरेको डिजाइन अनुसार जिर्णोद्धार गरिएको वडा अध्यक्ष समेत रहनुभएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कलानिधी शर्माले बताउनुभयो । ‘ऐतिहाँसिक महत्वका हात हतियार, मुर्ती, भाडाँकुडाहरु रहेको मन्दिरको भित्री संरचना र स्वरुपलाई यथावत राखेर जिर्णोद्धार गरिएको छ,’ शर्माले भन्नुभयो ।

मन्दिर पुननिर्माणका लागि चालू आर्थिक वर्षमा धवलागिरी गाउँपालिकाले दश लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पनि बजेट बिनियोजन गरेको जनाइएको छ ।  १६ औ शताब्दीमा तत्कालिन थापा राजाले निर्माण गरेको मन्दिर वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । ताकमकोतको एकिकृत विकास गर्ने उद्देश्यले गत वर्ष गूरुयोजना तयार पारिएको थियो ।


वि.स १२४६ देखि १५४५ सम्म ताकमकोत बगाले थापाको राज्यको रुपमा थियो । त्यसपछि वि.स १८८२ सम्म त्यहाँ मल्लहरुले शासन गरेको इतिहाँस छ । वि.स १८४३ को असोज १४ गते काजी अमरसिंह थापा, योगनारायण मल्ल, दामोदर पाण्डे, जीव शाहको नेतृत्वमा आएको गोर्खाली फौजले कब्जा गरि थुम ताकमलाई नेपाल राज्यमा मिलाएको थियो ।

कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् । सुरुङ्ग, छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, ओदान, मन्दिर, मुर्ती, फलामको छाता, माटाको शंख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुंगा लगायत सामग्री छन् ।

ताकम कोत म्याग्दीको प्रमुख शक्तिपिठ मानिन्छ । समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनोरम पहाडी भुगोल, ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । मन्दिरमा जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका पुजारी हेमराज पौडेलले बताउनुभयो । पुजाआजा र भाकल गरेमा मनोकांक्षा पुरा हुने विश्वासका साथ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा पुजाआजा र भाकल गरि बली चढाउन भक्तजनको घँुईचो लाग्ने गर्छ । दैनिक पुजाआजा हुने ताकमकोतमा वडादसैको समयमा बिशेष मेला लाग्छ ।

भाकल पुरा भएमा परेवा उढाउने, नरिवल फुटाउने र बोकाको कोत परिसरमा रहेका ओदान देवतालाइ बली चढाउने चलन भएको स्थानीय गोविन्द पौडेलले बताउनुभयो । भाकल पुरा होस भनेर भक्तजनहरुले कोतको आलम थानमा पञ्चबली चढाउने गर्छन् । नौमुरी चामलको भात पकाउन सकिने क्षमताको तामाका ताउला लगायत सामग्रीहरु रहेका स्थानीयबासी बताउँछन् ।