स्वास्थ्य कार्यालयको घुसकाण्ड : भरत आचार्य दम्पती नै अख्तियारको हिरासतमा

  • १९ भाद्र २०७६, बिहीबार
  • 3402 पटक पढिएको

म्याग्दी १९ भदौ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको घुसकाण्डले फरक मोड लिएको छ । आफुले पेश्की लिएको कार्यक्रम फस्यौट गराउँदा तत्कालिन कार्यालय प्रमुख सहितले घुस मागेको भन्दै अख्तियारको शरणमा पुगेका कार्यालयका हेल्थ असिस्टेन्ट अधिकृत भरत आचार्य आफै अख्तियारको छानविनको घेरामा परेका हुन् ।

भरतसंगै स्वास्थ्यमै कार्यरत उनकी पत्नी राधिका आचार्यलाई समेत अहिले अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय टंगालले नियन्त्रणमा लिएको छ । दुबै जनालाई बिशेष अदातलबाट म्याद थप गरि आबश्यक अनुसंधान गरिरहेको अख्तियारले जनाएको छ ।

आचार्य दम्पतीलाई अनुसंधानको लागि अख्तियारको काठमाण्डौं स्थित आयोगको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७५/०७६ मा स्वास्थ्य कार्यालय म्याग्दीले सम्पन्न गरेका कार्यक्रमहरुको अख्तियारले अनुसंधान गरिरहेको छ । आचार्यले पेश्की लिएर सम्पन्न गरेका कार्यक्रमहरुमा अस्वभाविक बिल र फर्जी बिल भरपाई पेश गरेर आर्थिक हिनामिना गरेको भेटिएपछि नियन्त्रणमा लिएर अनुसंधान थालिएको अख्यितारले जनाएको छ । प्रारम्भीक अनुसंधानको क्रममा सो कार्यमा स्वास्थ्यमै कार्यरत उनकी पत्नी राधिकाको समेत संलग्नता रहेको हुनसक्ने भन्दै दम्पतीलाई नै अहिले अख्तियारको हिरासतमा राखेर अनुसधान गरिरहेको जनाएको छ ।

स्वास्थ्य कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरुको भुक्तानीमा पेश भएका कागजात र बिल भरपाईको सम्बन्धमा अख्तियारको टोलीले पटक–पटक सम्बन्धित सेवा प्रवाह गरेका व्यक्तिहरुसंग भेटेर वास्तविकता केलाएको थियो । गत साउन १२ गते स्वास्थ्यमा कार्यरत ४ कर्मचारीलाई पेश्की फस्यौटमा घुस मागेको भन्दै कार्यालयबाट नै पक्राउ गरेको थियो ।

रु १ लाख ३० हजार रकम सहित रंगेहात पक्राउ परेका ४ जनामध्ये तत्कालिन कार्यालय प्रमुख भीमप्रसाद आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा लाई रु १ लाख ३० हजार बिगो जरिवाना र कैद सजाँय माग सहित अख्तियारले बिशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

सवारी चालक भवदत्त जैसीलाई भने घुसकाण्डमा प्रत्येक्ष संलग्न नभएर मतियारको रुपमा काम गरेको देखिएपनि भष्ट्राचारजन्य कसुरमा दोषिलाई कारबाही गराउने कार्यमा आयोगलाई सहयोग पु¥याएको भन्दै आयोगको साँक्षीको रुपमा मात्रै पेश गरि सफाइ दिएकाे थियाे। सो मुद्धामा विशेष अदालतको आदेश बमोजिम प्रमखु आचार्य र लेखापाल शर्माले जनही रु १ लाख ३० हजार र रेग्मीले ५० हजार धरौटी तिरेर रिहा भएका छन् । सो मुद्धामा थप अनुसंधान भैरहेको अख्तियारले जनाएको छ ।