लेखफाँटको ग्रामप्रकाश माविमा भवन निर्माण
- १९ भाद्र २०७६, बिहीबार
- 2235 पटक पढिएको
बेनी, १९ भदौ । जलजला गाउँपालिका–५ लेकफाँटमा रहेको ग्राम प्रकाश माविको कक्षा कोठा भवन निर्माण भएको छ । ४३ लाख तीस हजार २०४ रुपैयाँको कुल लागतमा दुई तले चार कोठे भवन निर्माण भएको हो । भुकम्प प्रतिरोधी क्षमताको सुबिधासम्पन्न भवन निर्माण भएपछि पठनपाठन सहज हुने अपेक्षा गरिएको छ ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतको ३६ लाख रुपैयाँ अनुदान, जलजला गाउँपालिका वडा न. ५ को दुई लाख पचास हजार, ग्रामप्रकाश बहुमुखी क्याम्पसको दुई लाख पचास हजार र विद्यालयको दुई लाख तीस हजार २०४ रुपैयाँमा भवन निर्माण भएको प्रअ भवानीशंकर पौडेलले जानकारी दिनुभयो ।
कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा २४० जना विद्यार्थी छन् । भवनको बुधबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभयो । उहाँले राजनीतिक पूर्वाग्रहको भावना त्यागेर सबै विकासमा एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारका साथै कृषि, पशुपालन र पर्यटन क्षेत्र मार्फत आयआर्जन सुधारका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । जिल्ला समन्वय समितिका सदस्इ ओमप्रसाद रेग्मी, वडा अध्यक्ष तिलक जिसी, भिष्म मल्ल, नेकपाका दण्डपानी सुवेदी, नेपाली काँग्रेसका गाउँपालिका चन्द्रबहादुर खत्री, याम शर्मा पौडेल, सहायक प्रअ नारायण मल्ल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुङ्गनाथ पौडेलको अध्यक्षता, प्रअ पौडेलको सञ्चालन र सदस्य हरिप्रसाद रेग्मीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा पूर्व शिक्षक बिष्णुप्रसाद सुवेदीले दिवंगत श्रीमती डिलकुमारीको नाममा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो ।