धवलागिरीमा तिज बिशेष कार्यक्रम : १५ वर्षीया किशोरीले जितिन छेलो फाल्ने प्रतियोगिता
- १८ भाद्र २०७६, बुधबार
- 3837 पटक पढिएको
गोपाल आचार्य
ताकम, १८ भदौ । धवलागिरी गाउँपालिका–७ ताकममा हरितालिका तिज पर्वको अवसरमा आयोजित छेलो फाल्ने प्रतियोगिता १५ वर्षीया युवती बिजयी भएकी छन् । मंगलबार आयोजना गरिएको महिलाहरुबीचको छेलो फाल्ने प्रतियोगितामा ताकमको रत्नेगैराकी ज्योती हर्मेल बिजयी भएकी हुन् । उनि ताकम माविको कक्षा ९ मा पढ्छीन् ।
१५ जना महिलाहरुले छेलो फाल्ने प्रतियोगितामा सहभागिता जनाएका थिए । करिब ८ किलो तौल भएको फलामको छेलो सबैले भन्दा टाढा फालेर हर्मेल बिजयी भएकी हुन् । एक हजार रुपैयाँ नगद पुरस्कार पाएकी छिन् ।उनलाई अबिर जात्रा गरि बाजागाजा सहित गाउँ परिक्रमा गराइएको थियो । हर्मेलले ताकम र आसापासका क्षेत्रमा छेलो फाल्ने प्रतियोगिता जित्ने पहिलो किशोरी भएको स्थानीयले दावी गरेका छन् ।
तिज पर्वको अवसरमा ताकम र धारापानीमा धार्मिक नाट्य समूहले परम्परागत राधाकृष्ण नाच प्रस्तुत गरेका थिए । शिव र पार्वतिको झाँकी समेत देखाइएको थियो । तिज पर्वको अवसरमा धवलागिरी गाउँपालिकाको सहयोगमा धारापानीमा बिशेष सांस्कृतिक कार्यक्रम भएको थियो ।
सफल आमा समूहको आयोजनामा भएको तिज गित प्रतियोगितामा मच्छिम आमा समूह प्रथम, शिवाङ आमा समूह दृतीय र ताकमको ३ नम्बर टोल आमा समूह तृतीय भएका थिए । तिज गित प्रतियोगितामा १३ समूहको सहभागिता थियो ।
म्युजीकल चियर प्रतियोगितामा मच्छिमको यसोदा छन्त्याल प्रथम, सुकमाया छन्त्याल दृतीय र धारापानीकी जमुना थापा तृतीय भएका छन् । ७ समूह सहभागि तारो खेलमा शिवाङको समूह (क) प्रथम, समूह (ख) दृतीय र धारापानी तृतीय भएका छन् । शिवाङका छेम गुरुङले धेरै खोल गर्नुभएको थियो भने शिवाङकै तुलप्रसाद गुरुङले वेष्ट प्येयरको उपाधी पाउनुभएको थियो । सफल आमा समूहका अध्यक्ष धना केसीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष थमसरा पुनको प्रमुख आतिथ्यता र रुपा केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।