डेङ्गुबाट बच्न लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु (फोटो फिचर)
- १७ भाद्र २०७६, मंगलवार
- 1877 पटक पढिएको
बेनी, १७ भदौ । डुङ्गु रोगबाट बच्न म्याग्दीमा लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन र स्थानीय तहको साझेदारीमा डेङ्गु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरि नष्ट र जनचेतना अभिवृद्धीको कार्यक्रम सुरु गरेका हुन् । बेनी नगरपालिकाको संयोजमा मंगलबार बेनी बजारका जोखिमयुक्त ठाउँको सरसफाई र घरदैलो गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय देखि ¥याली सहित न्युरोड हुदै कालीपुल पुगेर सो क्षेत्रका ग्यारेज र बसपार्क क्षेत्रको सरसफाई गरिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । बजारबासीहरुलाई डेङ्गुबाट बच्न सतर्कता अपनाउन अनुरोधका साथै पानी जम्ने गरि खुल्ला ठाउँमा राखिएका टायर हटाउन लगाइएको थियो ।
सडक र आसपासका ठाउँमा फालिएका फोहोर संकलन गरि नष्ट गरिएको थियो । सरसफाईमा प्रजिअ ज्ञाननाथ ढकाली, नगर प्रमुख श्रेष्ठ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारी, स्वास्थ्यकर्मी, नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुको सहभागिता थियो ।
छिमेकी कास्की, पर्वत र बागलुङमा डेङ्गुका बिरामी भेटिएका छन् । म्याग्दीमा अहिलेसम्म नदेखिएपनि जोखिम रहेकाले सतर्कता अपनाइएको स्वास्थ्य कार्यालयका प्रमुख प्रकाशराज शर्माले बताउनुभयो ।
एडिस जातको पोथी लामखुट्टेले एक बाट अर्को व्यक्तिलाई डेङ्गु सार्ने गर्छ । दिउँसोमा सक्रिय हुने यो लामखुट्ट सफा पानी जमेको ठाउँमा बस्ने र फुल पार्ने गर्छ । टायर र पानी जम्ने ठाउँमा बस्ने भएकाले त्यस्ता ठाउँको पहिचान गरि बासस्थान नष्ट गर्ने अभियान चलाइने भएको छ ।
अन्य स्थानीय तहका बजार क्षेत्रमा पनि सरसफाई र अव्यवस्थित रुपमा राखिएका टायरलाई व्यवस्थापन गरिने कार्यालय प्रमुख शर्माले बताउनुभयो ।