दुखुखोलामा दशकपछि बन्यो पुल

  • १५ भाद्र २०७६, आईतवार
  • 2043 पटक पढिएको

 

म्याग्दी, १५ भदाैँ । मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा सो पुल निर्माण गर्न नौ वर्ष लागेको हो । गलत डिजाइन र व्यवसायीको ढिलासुस्तीका कारण पुल नबन्दा जोखिम लिएर खोला वारपार गर्नुपर्ने बाध्यता थियो ।

तत्कालीन जिविस अन्तर्गत सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम ९ड्रिलीप० मार्फत २०६७ मा शुरु भएको सो पुलको ढाँचा भएपछि असफल बनेको थियो । पुरानो ठेक्का रद्द गरेर जिविस र प्राविधिक कार्यालयले पुनःसर्वेक्षण गराएर २०७३ मा अर्को ठेक्का सम्झौता गरे । गलत ढाँचालाई कारण देखाएर पुरानो ठेकेदार कम्पनी क्षतिपूर्ति माग्दै अदालत समेत गएको थियो ।

कूल २२ मिटर लामो पुल निर्माणका लागि २०७३ साउन ९ गते दुई रु करोड २५ लाख ६० हजार ८२३ मा स्वच्छन्द–गौचन जेभीसँग सम्झौता भएको थियो । २०७४ कात्तिकमा सक्ने लक्ष्य भए पनि दुई वर्ष ढिला गरी पुल बनेको हो । पुल तयार पारेर पहुँचमार्ग बनाइ हस्तान्तरणको तयारी गरेको निर्माण कम्पनीका प्रतिनिधि प्रकाश बानियाँले बताए । “सङ्घबाट प्रदेशमा आयोजना हस्तान्तरणमा भएको ढिलाइले पुल निर्माण प्रभावित बनेको हो”, बानियाँले भने, “दशै अघिनै पुल सञ्चालनमा आउँछ ।”

तत्कालीन जिल्ला प्राविधिक कार्यालयले ठेक्का लगाएको पुल गतवर्ष प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो । पुल बनाउन सम्बन्धित कार्यालय र व्यवसायीलाई पटक–पटक ताकेता र दबाब दिनुपरेको जिसस प्रमुख देवेन्द्र केसीले बताए । सवारी साधन र सर्वसाधारण खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हट्ने उनको विश्वास छ । कूल २४ किलोमिटर दुरीको बेनी–दरवाङ मङ्गला, मालिका, धवलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो ।

बेनीदेखि बाबियाचौरसम्म र लाम्पाटादेखि दरवाङ दुई खण्डमा कालोपत्रेको तयारी भएको पूर्वाधार विकास कार्यालयका वरिष्ठ डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताए । अन्नपूर्ण गाउँपालिका–५ शिखको स्वाँता खोलामा पनि आर्क प्रविधिको मोटरेबल पुल तयार भएको उनले बताए ।