पुस्तकालय दिवसको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण

  • १५ भाद्र २०७६, आईतवार
  • 1781 पटक पढिएको

म्याग्दी १५ भदौ ।  १२ औँ पुस्तकालय दिवसको अवसरमा बेनीमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयका २÷२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रकाश माविका दिनेश विक र यसोदा रोका, बेनी सामुदायिकका मंशिका विक र विनु छन्त्याललाई जनही नगद रु ३ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत विद्यार्थीहरुलाई सो छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रजिअ ढकालले हरेक व्यक्तिलाई चौतर्फि ज्ञान लिनका लागि पुस्तकालय महत्वपूर्ण आधार रहेको बताउनुभयो । उहाँले प्रविधिको विकासले पुस्तक पठन संस्कृतिमा कमि आएको देखिन थालेको भन्दै पुस्तकालयहरुलाई समेत प्रविधिमैत्री बनाउनतर्फ अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले पुस्तकालयको खस्कदो आकर्षणलाई सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो । म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावलको अध्यक्षता, सुमन पौडेलको स्वागत र नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।