मौवाफाँटमा तीज गीत प्रतियोगिता , गीत मार्फत पोखिए वेदना र भावना (भिडियो सहित)

  • १४ भाद्र २०७६, शनिबार
  • 2856 पटक पढिएको

म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा पवित्र आमा समुहले आयोजना गरेको प्रतियोगीतामा मुक्तिधाम माविको समुह प्रथम भएका छन् । ९ समुहले सहभागीता जनाएको प्रतियोगीतामा पवित्र आमा समुह द्धितिय, फुलवारी आमा समुह तृतिय र उदा आमा समुह पिप्ले सान्त्वना हुन सफल भएका थिए ।

 

प्रतियोगीतामा प्रथम द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः नगद रु ५ हजार, ३ हजार ५ सय र २÷२ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा बोलदै गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले तीजलाई साँस्कृतिक कार्यक्रम मार्फत दुख सुख साट्ने र सामुहिक रुपमा मनाउनको लागि प्रतियोगिताले सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले तीज नेपाली महिलाहरुको मौलिक पर्व रहेकाले यसको संरक्षण र संस्कृतिसंगै भित्रिएका विकृति न्युनिकरणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय अगुवा बालकृष्ण सुवेदी, होमस्टे सञ्चालकहरुको तर्फबाट दिपक कार्की र वडा नम्बर ३ का कार्यबहाक वडा अध्यक्ष सम्झना परियारले चाडपर्वलाई सामुहिक तवरले मनाउने संस्कारको विकास आबश्यक रहेकोमा जोड दिँदै महिलाहरुको आर्थिक विकास र शसक्तिकरणको मुद्धालाई सम्बद्ध निकायहरुले जोड दिनुपर्ने धारणा राख्नुभयो । पवित्र आमा समुहका अध्यक्ष कमला केसीको अध्यक्षता, कोषाध्यक्ष सिता खड्का सुवेदीको स्वागत र सचिब यामकुमारी गर्वुजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।